१५ बैशाख २०८१, शनिबार

स्याङ्जाबाट चार हजारभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

प्रकाशित मिति :  27 March, 2024 11:09 am


फाइल तस्बिर।

काठमाडौँ । भोलि (चैत १५ गते) बाट सुरू हुने एसइई परीक्षामा स्याङ्जा जिल्लाबाट १६८ विद्यालयका ४ हजार ३ सय ४० विद्यार्थीहरु सहभागी हुँदैछन् । यस वर्ष स्याङ्जाबाट नियमिततर्फ ४ हजार २ सय ७७ जना र ग्रेड वृद्धितर्फ ६३ जना गरी कूल ४ हजार ३ सय ४० जना विद्यार्थीले एसइई दिने शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाले जनाएकाे छ ।

यस वर्ष जिल्लाबाट प्राविधिकतर्फ १५६ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुने छन् । परीक्षा संचालन गर्न जिल्लाभर जम्मा परीक्षा केन्द्र २६ वटामात्र कायम गरिएको छ ।

अघिल्लो वर्ष स्याङ्जा जिल्लाभर ३४ वटा परीक्षा केन्द्र कायम गरिएको थियो भने यस वर्ष ८ वटा परीक्षा केन्द्र कटौती भएका छन् ।

एसइइ परीक्षा भाेलि (चैत १५) गते सुरू भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ । १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ ।

यसवर्षको एसईई परीक्षामा देशभरबाट चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !