७ बैशाख २०८१, शुक्रबार

रुकुम पूर्वमा औषधिबाहेकका पसल तोकिएको समयमा मात्र खोल्न पाइने

प्रकाशित मिति :  14 May, 2020 10:34 am


रुकुम पूर्व, १ जेठ ।

रुकुम (पूर्व) मा आजदेखि लकडाउनलाई थप कडा बनाइने भएको छ । नेपालका विभिन्न क्षेत्रमा कोरोना संक्रमित बढ्दै गएपछि जिल्लामा लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो ।

जिल्ला सुरक्षा समितिको हिजोको बैठकले आजदेखि यही जेठ ५ गतेसम्मका लागि स्वास्थ्य सेवाबाहेक अन्य सबै पसल तोकिएको समयमा मात्र खोल्न पाइने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु पोखरेलले जानकारी दिईन् ।

सोअनुसार स्वास्थ्य सेवाबाहेक अन्य अत्यावश्यकीय पसल बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने छ ।
गृह मन्त्रालयले नै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावतमा रोक लगाइसकेपछि अत्यावश्यकीय अवस्थामा जिल्लाभित्रै सवारी साधन चलाउनुपर्ने भएमा अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ ।

यस्तै जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टाइनमा बसेका पाँच जनालाई घर पठाइएको छ । दुई सातासम्म क्वारेन्टाइनमा बस्दा उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएपछि घर पठाइएको हो ।

सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुक्मिणी माविको क्वारेन्टाइनमा बसेका तीन र पुथाउत्तरगंगा गाउँपालिका हुकामको देउराली माविको क्वारेन्टाइनमा बसेका दुई जनालाई घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पूर्वका निमित्त कार्यालय प्रमुख यादवप्रसाद शर्माले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !