३ श्रावण २०८१, बिहिबार
यात्रा संस्मरण

अदभूत डोल्पा र शे-फोक्सुण्डो पदयात्रा

प्रकाशित मिति :  25 June, 2024 12:32 pm


हिमाल, यार्चागुम्बाजस्ता बहुमूल्य जडिबुटी, उच्च हिमाली क्षेत्रको पदयात्रा, शे-फोक्सुण्डो जस्ता अदभूत प्राकृतिक सम्पदा तथा बोन्पो सभ्यताको अनुपम उपलब्धताले डोल्पा आकर्षणको क्षेत्र बन्दै गएको छ ।

सडक यातायातले सदरमुकाम दुनैलाई छोएपछि आम मानिसको सहज पहुँचमा आएको छ, यो जिल्ला ।

हालै काठमाडौंदेखि जाजरकोट अनि त्रिपुरा सुन्दरी, जुफाल हुँदै दुनै र शे-फोक्सुण्डोको पदयात्रा गर्ने अवसर मिल्यो ।

त्रिपुरा सुन्दरी नगरपालिका डोल्पाको रल्ली जलाशय निर्माणका निमित्त माग भइ आएको हुँदा सोको पूर्व सम्भाव्यता अध्ययनले यो अवसर जुरायो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना र एकीकृत कर्णाली सिँचाइ विकास आयोजना जाजरकोटको टिमसँग हामी संयुक्त टोली बनाएर डोल्पा पुगेका थियौँ ।

जाजरकोटदेखि डोल्पा

जाजरकोट खलंगादेखि डोल्पाको दुनैसम्म करिब ११८ किलोमिटरको भेरी करिडोरमा सार्वजनिक यातायात चालु भैसकेको रहेछ । यसअघि ठूली भेरीमा पूल नहुँदा पल्टी गरेर यातायात सञ्चालन हुने गरेका थिए ।

हामी डोल्पा हिँड्ने समयमा संयोगले बेलीब्रिज तयार भइ अस्थायी रूपमा सञ्चालनमा आएको रहेछ । हामी तल्लुबगरमा पल्टी गर्नुपर्ने नभएपछि जाजरकोटबाट सिधै डोल्पा पुग्ने भयौँ ।

जाजारकोटको घमाइलो मौसम छोडेर हामी रिम्नातिर लाग्यौँ । रिम्ना डोल्पाबाट बगेर आउने ठूलीभेरी र रुकुमबाट बगेर आउने सानीभेरीको दोभान रहेछ । यो क्षेत्र पहिले पहाडको मालबाहक खच्चरको जक्शन थियो रे ।

यहीँबाट उत्तरी रुकुम, जाजरकोट र डोल्पाको निमित्त सामग्रीहरू पल्टी हुन्थे रे । अहिले यातायात पूर्वाधारले खच्चर स्टेसन दुनैतिर पुर्‍याएको रहेछ ।

हामी धूलो उदाउँदै मनमा उत्सुकताका साथ ठूलीभेरीको किनारै किनार लाग्यौँ । सडक फराकिलो लाग्यो, तुलनात्मक रूपमा राम्रो पनि । घुम्ती र उकालो ओरालो खासै थिएन । तल्लुबगरसम्म त बाटो पिच नभए पनि फिलीली नै थियो ।

भेरी करिडोरको चट्टानी सडकमा राज्यले निकै मेहनत गरेको महसुस भयो । यसमा खासगरी नेपाली सेनालाई धन्यवाद दिनै पर्छ । नेपाली सेनाको दशक लामो अथक प्रयासले यो सडकको ट्र्याक खुलेको रहेछ । यो सडक सिधा र राम्रो पनि छ ।

सडक कहिले ठूलीभेरीको वारी त कहिले ठूलीभेरीको पारी हुन्थ्यो । खोला वारीपारी सुख्खा र बञ्जर भिरालो पहरा थिए । पत्थरिलो भएकोले रुखरवृक्ष खासै देखिएन । भीरमा उम्रेका घाँस चर्न बाख्रा र गाईको बथान देख्दा अचम्म लाग्यो ।

कठोर चट्टानी पहाडहरू देख्दा जीवनप्रति प्रकृति कति निर्मम जस्तो लाग्थ्यो । चट्टानहरू हाम्रा प्राकृतिक स्रोत नै हुन् । यिनलाई चुनौती भन्दा पनि खानीको भण्डारको रूपमा लिने हो भने हामीसँग अपार सम्पत्ति छ ।

यहाँका चट्टान कुनै समय हामीलाई सम्पन्न बनाउने प्राकृतिक स्रोत बन्न सक्छन् ।

बाटामा राडीबजार, तल्लुबगर तथा त्रिवेणी लगायतका साना साना बजारहरू रहेछन् । तल्लुबगर भने फराकिलो थियो । यसको भविष्य भोलिको सहरी विकासका लागि उज्ज्वल लाग्यो । त्रिवेणी रुकुमपूर्व जाजरकोट र डोल्पाको सीमाना रहेछ ।

तीन जिल्लाको त्रिवेणी सानो भए पनि रमाइलो रहेछ । खाडाङ पनि यस्तै रमाइलो ठाउँ रहेछ । हामी करिब ६ घण्टाको मोटर यात्रा गरेर त्रिपुरा सुन्दरी उपत्यका पुग्यौँ ।

त्रिपुरा सुन्दरी नगर

नाम जस्तै त्रिपुरा सुन्दरी नगर सुन्दर रहेछ । ठुलीभेरी किनारमा बनेको सानो र चिटिक्क परेको उपत्यका रहेछ । वरिपरि ढल्केका घाँसे पहाडहरूले यो उपत्यकालाई प्राकृतिक रूपले रमणीय बनाएको छ ।

त्यति मात्र होइन, बाला त्रिपुरा सुन्दरीको महिमा त्यतिकै गजबको रहेछ । बाला, त्रिपुरा, सुन्दरी र देवीको मन्दिर उपत्यकाको पश्चिमपट्टि रहेछ ।

यही देवस्थलबाट सल्यानको खैराबाङ, बाँकेको बागेश्वरी, बाजुराको मालिका, जुम्लाको कनिका सुन्दरी र बैतडीको त्रिपुरेश्री देवीहरू उत्पत्ति हुन गएको किंवदन्ती रहेछ । साथै राजा विक्रम शाही गोर्खाली सेनाको घेरामा परेपछि आत्मसमर्पण गर्नुभन्दा म आफै मरेँ भने त्रिपुराकोट सधैँका लागि मेरो रहनेछ भनी यही स्थलमा मृत्युवरण गरेको कथा रहेछ ।

यस्तै उपत्यकाको पूर्वतर्फ रल्ली बस्ती रहेछ । यसलाई ताराश्री नगर भनिन्छ । यसलाई राजारानी पनि भन्ने गरिँदो रहेछ । यसको इतिहास र प्राचीनता अझ रोचक छ । रल्लीमा बाइसी/चौबिसी कालमा लिम्बुल्याप्चे नामका भोटे राजाले राज्य गर्थे । त्यो स्थानमा दरबारको भग्नावशेष अझै छ । केही वर्ष पहिले पुरातत्व विभागले उत्खनन् गर्दा मानव गुफा, गरगहना, हतियार तथा मानव कंकालका अवशेष फेला पारेको थियो रे ।

उहिल्यै रल्लीको सेराखेतमा सामूहिक रोपाइ हुन्थ्यो रे । गाउँ गाउँबाट मानिसहरू आएर बाजा(गाजा सहित रोपाइ गर्थे रे ।

रोपाइअघि त्यहाँ समग्र समुदायको कल्याणका लागि मानव बली दिइन्थ्यो रे । बली चढ्ने मानिसको नाम सेराखेतको छेउमा रहेको ढुंगामा लेखिएको हुन्थ्यो रे । पछि माझफालका बाबुछोराले बासोले ढुंगामा लेखिएको नाम ताछेर मेटेपछि यो प्रथाको अन्त्य भएको जनविश्वास रहेछ ।

हामी त्रिपुरा सुन्दरीका वडा अध्यक्षको न्यानो आतिथ्यताका साथ केही रमणीय स्थल घुम्यौँ । रल्लीको सिमालो जलाशय र सिँचाइ क्षेत्रको अवलोकन गर्‍यौँ ।

त्यो साँझ हाम्रो बास जुफालमा भयो । डाँगीबाडाको छेउमा जुफाल रहेछ । जुफाल डोल्पाको मुख्य हवाई अड्डा हो ।

मसिनेचौरमा पनि एयरपोर्ट छ तर जुफाल अलि चल्तिको एयरपोर्ट रहेछ । जुफालमा राम्रा होटलहरू रहेछन् । विदेशी पर्यटकहरूको भीडभाड हुने ठाउँ रहेछ । सिजनमा त्यहाँ बस्ने ठाउँ नै पाउन मुस्किल हुन्छ रे ।

पहुँचका हिसाबले डोल्पा अब आम मानिसका लागि पनि सहज भएको रहेछ । रिम्नादेखि दुनैसम्मको सडक यातायातले यात्राको समय घटाएको रहेछ ।

ठुलीभेरी वारपार गर्नुपर्ने विभिन्न ठाउँमा पक्की पुल र सडक पिच भयो भने अझ धेरै राम्रो हुने देखिन्छ ।

शे-फोक्सुण्डोको पदयात्रा

जुफाल र दुनैको बिचमा रुपागाड भन्ने ठाउँ छ । यो ठूलीभेरी र सुलिगाडको दोभान रहेछ । यही दोभानबाट सुरु हुँदोरहेछ शे-फोक्सुण्डो पदमार्ग । सुलिगाडको किनारै किनार यो करिब ३८ किलोमिटर लामो पदमार्ग रहेछ ।

सुलिगाडको कञ्चन पानीले हामीलाई सुरुमै मोहित बनायो ।

आरम्भमा बाटाभरी देखिने जंगली दारिमका पोथ्राले हामीलाई उत्सुक बनायो । केही समय हिँडेपछि नेपाली मौलिकता भएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको गेट भेटिने रहेछ ।

हिउँ चितुवाको भूमिमा स्वागत छ भन्ने बोर्डले थप कौतुहल पैदा हुँदो रहेछ ।

नजिकै शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय देखियो । निकुञ्ज प्रवेशको लागि प्रवेश अनुमति लिनु पर्ने रहेछ । नेपाली नागरिकका लागि रु.१०० प्रवेश शुल्क लाग्ने रहेछ । यार्चागुम्बा टिप्न हिँडेकाहरू पनि अनुमति लिन निकुञ्जको गेटमा झुम्मिएका भेटिए ।

वारिपारिका डाँडाकाँडा निकै अग्ला थिए । पहराहरू उजाड देखिन्थे । वारिपारि बस्ती नहुँदा धर्ती निर्जन देखिन्थ्यो । खासै रुखरवृक्ष थिएनन् । खोला भने सेताम्मे भएर बगेको थियो । यसले पदयात्रालाई भने सितल बनाउने रहेछ ।

जति अगाडि बढ्यो, त्यति पारी अग्ला अग्ला नाङ्गा पहाडका चुचुरोहरू देखिन्थे ।

एउटा कुना पार गरेपछि फेरी अर्को सुरु हुन्थ्यो । समूहमा हिँड्दा बाटो सुख्खा र धुले भएकोले धुलो उडेर हिँड्नै अप्ठ्यारो हुन्थ्यो । छेप्का, रेची तथा शे-फोक्सुण्डो भारी छोडेर फर्केका खच्चरहरू बाटामा धुलो उदाउँदै फर्कदै थिए ।

हाम्रो यात्रा अघि बढिरहँदा जति माथि पुगियो त्यति हरियाली हुँदै गयो । साङतादेखि धूपी र लेकाली रुखहरूको जंगलले पदयात्रा शितल हुने रहेछ । बाटाभरि सुलिगाडको आवाजले खासै गफ्फिन नमिल्ने रहेछ ।

बाटो तुलनात्मक रूपमा त्यति गाह्रो र उकालो थिएन । कतै कतै भने अप्ठ्यारो थियो । परम्परागत रैथाने इन्जिनिरिङ प्रयोग गरी बनाइएका काठे पुलले खोला वारपार गर्दा रमाइलो हुँदो रहेछ ।

छेप्का भन्दा अगाडि खेमझ्यापुवामा क्याराभान फिल्मका नायक ठिन्ले लुण्डुप लामाको सम्झनामा चिर्थुम निर्माण गरिएको रहेछ । यही बाटो हिँड्दा घोडाबाट लडेर भालेजुरामा नायक ठिन्लेको मृत्यु भएको थियो रे । क्याराभान विश्राम स्थल भनेर एउटा विश्रामस्थल बनेको रहेछ । त्यहाँ बाटामा हिड्नेहरूको निमित्त बिसाउने ठाउँ गजबको लाग्यो ।

बाटोमा साङ्ता, छेप्का, ध्वाँसे, सिडाक, रेंची, साइजल, तापरिचा, चुनुवार लगायतका स्टपहरू भेटिने रहेछन् । ती ठाउँहरूमा व्यवस्थित होटलहरू रहेछन् । खान बस्नलाई सुविधा उपलब्ध रहेछ । मोबाइल फोनको टावरले काम नगरे पनि वाइफाईले भने काम गर्दो रहेछ ।

त्यहाँ सौर्य ऊर्जाको प्रयोग गरी विद्युत सेवा उपलब्ध रहेछ । त्यति लामो करिडोर हुँदै पदयात्राका क्रममा फोन सम्पर्कविहीन भएर हिँड्नुको मजा नै अर्को हुने रहेछ । कहीँकतैबाट फोन आउला भन्ने तनाव नै नहुँदो रहेछ । मन बडो शान्त र स्वतन्त्र हुने रहेछ ।

सुलिगाडबाट हिँडेर पहिलो बास हामी रेंचीमा बस्यौँ । रेंचीबाट भोलिपल्ट बिहान हिडियो । रुपागाडबाट फोक्सुण्डो पुग्ने पदयात्रा २ दिनको रहेछ । हामी अलि छिटो हिडेको अनुभूत भयो । यसले हामीलाई अलि बढी थकान पनि महसुस भयो ।

भोलिपल्ट विहान हामी रेंचीबाट चुनुवारको झरना होटलमा पुगेर खाजा खाने लक्ष्य राख्यौँ । विहानै हिडेकोले चिसो थियो । जंगल प्रशस्त भएपनि चराचुरुङ्गीको आवाज खासै सुनिएन । खाली सुलिगाडको एकसुरमा आवाज सुसाइ रहेको थियो ।

२ घण्टा हिडेपछि तापरिचा भन्ने ठाउँ आउँदो रहेछ । तापरिचामा आम्ची अस्पताल, शे फोक्सुण्डो स्वास्थ्य चौकी र तापारिचा विद्यालय रहेछन् । रिंग्म, पुङ्मोलगायत आठ गाउँको साझा आवासीय माध्यामिक विद्यालयका रूपमा तापरिचा विद्यालय सञ्चालनमा रहेछ । यो विद्यालय टासी डी नामक संस्थाले सन् १९९८ देखि व्यवस्थापन गर्दै आएको रहेछ ।

तापरिचा पछाडी चुनुवार भन्ने ठाउँमा पुगिने रहेछ । त्यहाँबाट भने उकालो सुरु हुने रहेछ । त्यहाँबाट सुलिगाड झरनासम्म ठाडै उकालो रहेछ ।

चुनुवारको झरना होटलमा तिते फापरको रोटी खाएर हामी शे-फोक्सुण्डो उकालियौँ । केही समय हिँडेपछि पालम गाउँ भेटियो । यो गाउँ भने निर्जन थियो । यहाँका मानिसहरू हिजोआज उपल्लो डोल्पातिर गएका छन् रे । उनीहरू जाडो महिनामा झर्ने रहेछन् ।

पालमबाट सुलिगाड झरनासम्म ठाडो उकालो पर्ने रहेछ । यो उकालो पदयात्राको निकै कठिन उकालो हो ।

उकालो खासै अप्ठ्यारो नभए पनि रूपागाडदेखि पैदल यात्रा हाडेर त्यहाँसम्म पुग्दा शरीर थकित भयसकेको हुन्छ ।

अर्कोतिर उचाईको हिसाबले पनि त्यो ३६ सय मिटर माथिको उचाई हो । अक्सिजनको न्युनताले अति कठिन हुँदो रहेछ ।

हामी विस्तारै विस्तारै यो उकालो चढ्यौँ । करिब २ घण्टा लाग्यो झरनाको भ्यु-प्वाइन्ट पुग्न ।

शे-फोक्सुण्डोबाट रसाएर निस्केका दुई साना पानीका झरना देखिए । त्यसपछि लगत्तै ठूलो झरना देखियो । यो निकै मनमोहक थियो । प्रकृतिको अदभूत रचना थियो । यसलाई सुलिगाड झरना भनादो रहेछ ।

यो शे-फोक्सुण्डो तालबाट निश्रित कञ्चन जलाधारबाट निर्मित झरना रहेछ । यो झरना १६७ मिटर अग्लो रहेछ । हामी सुलिगाड झरनालाई केही समय नियाल्यौँ । प्रकृतिको सुन्दर सृष्टिलाई अघाउञ्जेल हेर्यौँ ।

हामी जाने बाटो अति डरलाग्दो देखिन्थ्यो । एकछाङ्गे भीर खोपेर बाटो बनाइएको रहेछ । त्यहाँबाट चिप्लेपछि सिधै तल सुलिगाड झरनासँग मिसिदो रहेछ । हामी भयलाई नियन्त्रण गरेर त्यो बाटो पार गर्‍यौँ ।

केही बेरमा हामी रमाइलो भ्यालीमा पुग्यौँ । हिमाली वनस्पति र धूपीको सुगन्धले सुगन्धित र रमणीय थियो । उता दक्षिणतिर देखिने अग्लो हिमाल अनि अग्ला अग्ला हिउँ थुप्रेका हिउँचुलीहरूको काखमा यो भ्याली निकै रमाइलो लाग्यो ।

यही भ्यालीमा थियो एउटा प्राचीन बस्ती रिंग्म गाउँ । गाउँको गेटमा पुग्ने वित्तिकै उपल्लो डोल्पाको भाइब आयो । प्राचीन भोट संस्कृतिका संकेत देखिन थाले । अग्ला डाँडाहरूमा रंगीबिरंगी ध्वजाले सजिएका गोम्पा देखिन थाले ।

हाम्रो आँखा अगाडी रिंग्म गाउँ आयो र हामी गाउँभित्र प्रवेश गर्‍यौँ । उपल्लो डोल्पाको हिमाली वास्तुकलाको जीवन्त दृश्य छोएर अनुभव गर्न पाउँदा बडो आनन्द आयो ।

रिंग्म गाउँको संक्षिप्त अवलोकन गर्दै हामी हाम्रो गन्तव्यतिर हानियौँ । केही मिनेटमै हाम्रो अगाडि शे-फोक्सुण्डो ताल देखियो ।

ताल देखेर संसार जितेको महसुस भयो । त्यो क्षणमा ताल दुई रंगको थियो । दक्षिणतिर निलो र उत्तरतर्फ हरियो देखिन्थ्यो । तालबाट आँखा नहटाई हामी तालको छेउमा रहेको कान्जिरवा होटल पुग्यौँ । त्यहाँ केही समय विश्राम गरेर खाना खायौँ । खाना खाएपछि तालको अवलोकन गर्न ताल वरिपरि घुम्यौँ । तालका विभिन्न विशेषताहरूको अनुभूति गर्यौँ ।

शे-फोक्सुण्डो ताल

शे-फोक्सुण्डो ताललाई रिंग्म ताल पनि भनिने रहेछ । शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने यो अदभूत प्राकृतिक ताल रहेछ ।

आजभन्दा ३० देखि ४० हजार वर्षअघि पहिरो गएर यो तालको निर्माण भएको मानिँदो रहेछ । यो ताल सामुद्रिक सतहबाट ३९९० मिटरको उचाइमा अवस्थित रहेछ ।

यो ताल ४.८ किलोमिटर लामो र १।६ किलोमिटर चौडा छ भने ६५० मिटर गहिरो रहेछ । काञ्जिरवा हिमालको काखमा अवस्थित यो तालको आकार अंग्रेजी अक्षर वाईजस्तो देखिदो रहेछ । यो तालबाट निस्केको पानीले नेपालको सुन्दर दोस्रो ठूलो झरना सुलिगाड झरनाको निर्माण गरेको रहेछ ।

कुनै जीवजन्तु नपाइने यो ताललाई निजीव ताल भनेर पनि चिनिँदो रहेछ । यसको छेउमा रिंग्म गाउँ छ ।

ताल वरिपरि २० वटा बौद्ध स्तुपा रहेको र पूर्वमा एउटा गोम्पा रहेछ । यहाँ बौध्द धर्मालम्बीहरूले वार्षिक रूपमा पूजापाठ गर्दा रहेछन् । यो ताल छिनमै निलो, कालो सिन्दुरे बन्दो रहेछ । आकाशको रंग अनुसार तालले रंग फेर्छ रे । यो तालमा नुहाउन मनाही रहेछ । पौडी खेल्न निषेध गरिएको रहेछ तालमा डुंगा छैन । यो तालको पश्चिम उत्तरमा भ्यु-प्वाइन्ट राखिएको रहेछ । तालबाट २ दुई घण्टा हिडेपछि यहाँ पुग्न सकिने रहेछ । यही बाटो भएर डोल्पाको प्रख्यात शे-गुम्बा पुगिन्छ रे ।

रिंग्म गाउँ

रिंग्म गाउँ ९ सय बर्ष पुरानो गाउँ मानिँदो रहेछ । हिमाली बोन सभ्यता र संस्कृतिको जीवन्त अनुभव यो गाउँमा गर्न सकिने रहेछ ।

रिंग्म गाउँमा भोटे समुदायका लामा, बुढा, बैजी र गुरूङको बसोबास रहेछ । यी सबै बोन धर्मावलम्बी रहेछन् ।

यहाँको परम्परागत घरहरूमा ११ वटा होटल सञ्चालनमा रहेछन् । सिजनमा स्वदेशी र विदेशी पर्यटकको घुइँचो हुने रहेछ । शे-फोक्सुण्डो घुम्न आउनेलाई गासबासको यहाँ समस्या रहेनछ ।

आकर्षण

शे-फोक्सुण्डो ताल आफैमा अदभूत प्राकृतिक रचना हो । यस्तै फोक्सुण्डो ताल किनारमा पन्ध्रौं शताब्दीमा टेतोन छेवाङ छुल्ठिमले बनाएको थासुङ छोलिङ गोम्पा रहेछ ।

यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारीको तिब्बती भू(धरातल र सो अनुसारको जैविक पर्यावरण अनुभूत गर्न सकिदो रहेछ ।

उपल्लो डोल्पाको बोन संस्कृतिको रस्वादान गर्न सकिने रहेछ ।

बोन्पो धर्म पर्यटकका लागि थप आकर्षण रहेछ । त्यहाँ प्राचीन गोम्पाहरूको अवलोकन गर्न सकिन्छ । डोल्पाको प्रख्यात शे-गुम्बा जाने र उता मुस्ताङ आउजाउ गर्ने पदमार्ग पनि यहाँबाट पर्दोरहेछ ।

प्राकृतिक सौन्दर्य यहाँको अर्को आकर्षण हो । सुलिगाड झरनाको अतिरिक्त तालबाट विश्वको सातौँ अग्लो धौलागिरि हिमाल, सिस्ने हिमाल, अपि हिमाल, साइपाल हिमाल, काँडे हिमचुली, तिब्बतको हिमाली दृश्यलगायत हिमालको झलक पनि हेर्न सकिने रहेछ ।

निष्कर्ष

डोल्पा अदभूत रहेछ । प्राकृतिक सुन्दरता अपार छ । पदयात्रीलाई बोन संस्कृतिले नेपालकै अर्को अनुपम सभ्यताको साक्षत्कार हुने अवसर दिदो रहेछ । शे(फोक्सुण्डो साहसिक पदयात्राको एउटा सुनौलो अवसर जो सुकैका लागि बन्न सक्ने रहेछ । साहस, आत्मविश्वास, धर्यता र फरक अनुभूतिको परीक्षाका लागि शे(फोक्सुण्डो पदयात्रा आम मानिसलाई प्राप्त गजबको तोहफा रहेछ ।

शे-फोक्सुण्डो कसरी पुग्ने ?
-काठमाण्डौ-नेपालगंज-जाजरकोट-डोल्पा सार्वजनिक बसबाट पुग्न सकिने
-काठमाण्डौँ-रुकुमपश्चिम-रिम्ना हुँदै डोल्पा पुग्न सकिने
-निजी सवारी साधनबाट पनि नेपालगंज-छिन्चु-जाजरकोट हुँदै डोल्पा र काठमाण्डौँबाट मध्ये पहाडी लोकमार्ग हुँदै रिम्ना-डोल्पा
पुग्न सकिने
-हवाई यातायातबाट काठमाण्डौ(नेपालगंज र नेपालगंज-जुफाल पुग्न सकिने ।
-जुफाल र दुनैको बीचमा रुपागाड भन्ने स्थानबाट शे-फोक्सुण्डो पदमार्ग सुलिगाड किनारै किनार पर्दछ ।
-खाना र आवासको पदमार्गभरि सुविधा भएको ।

लेखक-सिंचाइ तथ जलस्रोत विभागका बरिष्ठ समाजशास्त्री हुन् ।



प्रतिक्रिया दिनुहोस !