५ जेष्ठ २०८१, शनिबार

प्यूठानमा विरामीको आरडीटी पोजेटिभ देखिएपछि प्राथमिक स्वास्थ्य केन्द्रको बहिरङ्ग सेवा बन्द

प्रकाशित मिति :  28 May, 2020 1:50 pm


प्यूठान, १५ जेठ ।

प्यूठानमा प्राथमिक स्वास्थ्य केन्द्र खलंगाको बहिरङ्ग सेवा बन्द गरिएको छ । स्वास्थ्य केन्द्रमा मंगलबार परीक्षणका लागि आएका एक बिरामीको प्यूठान अस्पतालमा गरिएको कोरोना आरडिटी पोजेटिभ आएपछि सेवा बन्द गरिएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

उक्त स्वास्थ्य केन्द्रमा बन्दाबन्दीका समयमा दैनिक ५० भन्दा बढी मानिस बहिरङ्ग सेवा लिन आउने गरेका छन् । भारतबाट यही जेठ ११ गते आएका पुरुषलाई मल्लरानी गाउँपालिका–५, कसेरीस्थित जनजागृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो ।

बिरामी भएपछि प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा आएका उनलाई आरडिटी पोजेटिभ देखिएपछि पिसिआर रिपोर्ट नआउँदासम्म सेवा बन्द गरिएको प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गाका प्रमुख डा. शान्तराज रोकाले जानकारी दिए । उनको पिसिआर रिपोर्ट नेगेटिभ आए तुरुन्त पुनःसञ्चालन गर्ने गरी सेवा बन्द गरिएको रोकाको भनाई छ ।

आकस्मिक बिरामी आएमा परीक्षण गरिने तर सामान्य बिरामीको परीक्षण बन्द गरिएको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा आएका ती बिरामीमा पोजेटिभ देखिए कन्ट्याक्ट टे«सिङका लागि सहज होस् भनी व्यवस्थापन समितिको निर्णयबाट बुधबारदेखि बहिरङ्ग सेवा बन्द गरिएको मल्लरानी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पारस शाहीले जानकारी दिए ।

आरडिटी पोजेटिभ देखिएका बिरामीको स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको छ । कोरोना विशेष अस्पताल धागो कारखाना बुटवलमा रहेको आइसोलेशनमा बिरामीको उपचार भइरहेको स्वास्थ्य संयोजक शाहीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !