प्रधानमन्त्रीले पाण्डेलाई दिए अर्जेन्टिनी हिमाल आरोहणको शुभकामना
काठमाडौँ । विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि प्रस्थान गर्दैछन्। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई अभियानको सफलताको शुभकामना दिँदै नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पाण्डेलाई बिदाइ गर्दै समाजमा सकारात्मकता फैलाउने युवाहरूको अभियानमा सरकार सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरे। पाण्डे जनवरी २० मा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्स प्रस्थान गर्ने तयारीमा छन्।
पर्वतारोही पाण्डेले सन् २०१६ देखि पर्वतारोहण प्रारम्भ गरेका हुन्। सगरमाथा, मनास्लु र आमादब्लमसहित नेपालका विभिन्न प्रमुख हिमालको सफल आरोहण गरिसकेका उनले २०२४ को जुनमा युरोपको उच्च हिमाल माउण्ट एलब्रस र सोही वर्षको नोभेम्बरमा अफ्रिकाको किलिमन्जारो हिमाल चढिसकेका छन्।
पाण्डेले आफ्नो यो अभियान हिमाल चढ्ने मात्र नभई जलवायु परिवर्तनका असरबारे जनचेतना जगाउन केन्द्रित रहेको बताएका छन्। “जलवायु परिवर्तनका कारण हामीले विषम परिस्थितिको सामना गर्नुपरेको छ। यसले ठूला र शक्तिशाली राष्ट्रहरुको ध्यानाकर्षण गर्नुपर्छ,” उनले भने।
उनले अर्जेन्टिनाको उच्च हिमाल आरोहणमार्फत नेपाल र अर्जेन्टिनाबिचको दौत्य सम्बन्धलाई थप सुदृढ बनाउन र नेपाली पर्यटनलाई प्रवर्द्धन गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे। अर्जेन्टिना र नेपालबिच सन् १९६२ मा दौत्य सम्बन्ध स्थापना भए पनि भौगोलिक दूरीका कारण दुवै मुलुकबीचको सम्बन्ध सीमित रहेको पाण्डेको भनाइ छ।
सातै महादेशका अग्ला हिमालमा नेपालको राष्ट्रिय झण्डा फहराएपछि अन्ततः सगरमाथामा पुनः झण्डा फहराउने लक्ष्य लिएका पाण्डे अन्तर्राष्ट्रिय युवा अभियान स्काउट र रोटरी इन्टरनेशनलसँग पनि आवद्ध छन्। स्काउटका संस्थापकको नाममा नामकरण गरिएको नेपालमा रहेको बेडेन पावेल स्काउट पिक पनि उनले दुइपटक चढिसकेका छन्।
उनको अभियानमा मकालु आउटफिटले आवश्यक माउन्टेनियरिङ गियर उपलब्ध गराएको छ। अन्य व्यवसायिक साझेदारहरुको समर्थन थपिँदै गएकोले आफ्नो अभियान छिट्टै सफल हुनेमा पाण्डे विश्वस्त छन्। उनले नेपाली पर्यटन प्रवर्द्धनमा आफ्नो अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गरेका छन्।








