महिला सुरक्षा दवाव समूहको अध्यक्षमा इरादा गौतम निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । इरादा गौतम महिला सुरक्षा दवाव समूहको छैटौं महाधिवेशन तथा १९ औं साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएकी छिन्। समूहको नयाँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनमार्फत उपाध्यक्षमा कमला उप्रेती, महासचिवमा वैजन्ती कार्की, सचिवमा मिना स्वार्णाकार र सीता ओझा, तथा कोषाध्यक्षमा शान्ति नकर्मी चयन भएका छन्।
महिला सुरक्षा, न्याय र अधिकार प्रवर्द्धनका लागि काम गर्दै आएको महिला सुरक्षा दवाव समूहको छैटौं महाधिवेशन तथा १९ औं साधारणसभा माघ १८ गते सम्पन्न भएको हो। महाधिवेशन तथा साधारणसभाको अध्यक्षता कल्याणी शाहले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष इरादा गौतमले व्यक्त गरेकी थिइन्। कार्यक्रमको उद्घाटन सल्लाहकार सावित्री थापा र दुर्गा घिमिरेले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रममा संस्थाको विगत र वर्तमानको समीक्षा गर्दै सल्लाहकार तथा प्रमुख व्यक्तित्वहरूले महिला सुरक्षा, न्याय तथा अधिकार सुनिश्चित गर्न नवनिर्वाचित नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। उद्घाटनपछि महासचिव विजया श्रेष्ठ र कोषाध्यक्ष विमला तुम्खेवाले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा छलफलपछि आवश्यक सुझावहरू समेट्दै पारित गरिएको थियो।
नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले १५ सदस्यीय कार्यसमिति चयन गर्दै निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो। समितिमा सुशीला श्रेष्ठ, अजिता अर्याल, विमला तुम्खेवा, प्रतिमा मुडभरी, द्रौपदी रोकाय, गीता भट्टराई, मञ्जु मरासिनी, चाँदनी राना र गोमादेवी गुरुङ सदस्यका रूपमा चयन भएका छन्।
निर्वाचनपछि वरिष्ठ अधिवक्ता मिरा ढुङ्गानाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएकी थिइन्। शपथग्रहणपछि वर्तमान अध्यक्ष इरादा गौतमले महिला सुरक्षा दवाव समूहको उद्देश्य तथा भावी योजनाबारे आफ्नो प्रतिबद्धता व्यक्त गरिन्। निवर्तमान नेतृत्वले नवनिर्वाचित टोलीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिंदै कार्यक्रम समापन गरिएको थियो।
महाधिवेशन तथा साधारणसभामा सल्लाहकार द्वय, सञ्जाल सदस्यहरू, कार्यालयका कर्मचारी तथा निर्वाचन समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। निर्वाचन समितिलाई सफलतापूर्वक निर्वाचन गराएकोमा वरिष्ठ अधिवक्ता मिरा ढुङ्गाना तथा अधिवक्ता पुष्पा पौडेललाई विशेष धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो।