६ बैशाख २०८२, शनिबार

गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजियो-गृहमन्त्री लेखक

प्रकाशित मिति :  26 March, 2025 3:00 pm


भक्तपुर । नेपालका गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन् ।

जुद्ध वारुण यन्त्र भक्तपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै नकारात्मक सन्देश प्रवाह गर्ने प्रयास भइरहेको बताए ।

उनले लोकतान्त्रिक गणतन्त्रले नागरिकका आवाज सुन्ने, उनीहरूको हकहितको रक्षा गर्ने व्यवस्था रहेको भन्दै यसको विकल्प खोज्नुपर्ने धारणा पूर्णतः गलत भएको स्पष्ट पारे ।

गृहमन्त्री लेखकले २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले गरेको राजनीतिक कूको प्रसङ्ग कोट्याउँदै राजतन्त्रमा पहिलो निशाना सञ्चारमाध्यम बन्नुपरेको उल्लेख गरे ।

“राजाले सत्ता कब्जा गर्दा सबैभन्दा पहिला सञ्चारमाध्यममाथि हस्तक्षेप भयो। पत्रकारहरूलाई दबाउन खोजियो। लोकतन्त्र भनेको जनताको आवाज सुन्ने व्यवस्था हो, तर राजतन्त्र भनेको जनताको आवाज कुल्चिने व्यवस्था हो,” उनले भने ।

उनले लोकतान्त्रिक गणतन्त्रले गरेका उपलब्धिहरूलाई सञ्चारमाध्यमहरूले व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । “अहिले समाजमा लोकतन्त्रले केही गर्न सकेन, गणतन्त्र असफल भयो भन्ने गलत सन्देश प्रवाह गर्ने प्रयास भइरहेको छ तर लोकतन्त्र भनेको संवाद र जनताको आवाज सुन्ने प्रणाली हो । यसलाई बलियो बनाउनुपर्छ, न कि कमजोर पार्ने षड्यन्त्र गर्नुपर्छ,” उनले थपे ।

यसैबीच, भक्तपुरस्थित जुद्ध वारुण यन्त्रको सेवा तीन रोपनी सात आना जग्गामा निर्माण भएको नयाँ भवनबाट सञ्चालनमा आएको छ । रु. ५ करोड ७६ लाख ९८ हजार लागतमा निर्माण सम्पन्न भवन २०८१ कात्तिक १ गते कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।

हाल ३२ जनाको दरबन्दी रहेको कार्यालयमा १५ जना फायरम्यान, ४ जना भारी सवारी चालक, २ जना हलदार, २ जना क्लिफर, १ नासु, १ खरिदार, १ सहायक कम्प्युटर अपरेटर, १ सह लेखापाल र ३ जना कार्यालय सहयोगी कार्यरत रहेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !