६ असार २०८२, शुक्रबार

राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित

प्रकाशित मिति :  28 March, 2025 2:03 pm


काठमाडाैँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकको कारबाही सुरू गर्न खोज्दा विपक्षी दलहरुले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टापछि बस्ने गरी स्थगित गरेका हुन् ।

विपक्षीहरू उठेर विरोध जनाएपछि अध्यक्ष दाहालले विपक्षीको तर्फबाट राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्न समय दिए ।

सांसद विश्वकर्माले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विषयमा विपक्षीले प्रधानमन्त्रीको जवाफ माग गरेको तर प्रधानमन्त्री सदनप्रति जवाफदेही नभएको भन्दै सदन स्थगित गर्न माग गरे ।
अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा बचाउन पनि आसन ग्रहण गरेर सहयोग गर्न आग्रह गरे । राजनीतिक दलहरू आफै सक्रिय भएर समस्याको समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

पटक–पटक आशन ग्रहण गरेर बैठक सुचारु गर्न आग्रह गरेपनि विपक्षी सांसदहरूले अवरोध कायमै राखेपछि उनले बैठक एक घण्टाका लागि स्थगित भएको घोषणा गरे ।



प्रतिक्रिया दिनुहोस !