२० मंसिर २०८२, शनिबार

सङ्घीय संसद्का दुवै सदनको बैठक आज : जलस्रोत र चलचित्र विधेयकमाथि छलफल हुने

प्रकाशित मिति :  19 May, 2025 11:15 am


फाइल फाेटाे।

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । पूर्वाधार विकास समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल हुने र पारित गर्ने प्रक्रिया अघि बढाइने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यस्तै, राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभा समक्ष पेस गर्नुहुनेछ । चलचित्र उद्योगलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउने लक्ष्यका साथ सरकारले सो विधेयक ल्याएको हो ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावना छ ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको पनि उत्तर दिइने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !