२० मंसिर २०८२, शनिबार
लुम्बिनी प्रदेशको २०८२/८३ नीति तथा कार्यक्रम

कृषि क्षेत्रलाई समृद्धि र स्वावलम्बनको आधार बनाउने दृष्टिकोणका साथ विविध कार्यक्रम गरिने

प्रकाशित मिति :  19 May, 2025 1:42 pm


काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा कृषिक्षेत्रलाई समृद्धि र स्वावलम्बनको आधार बनाउने दृष्टिकोणका साथ विविध कार्यक्रम घोषणा गरेको छ।

“कृषिमा उत्पादकत्व वृद्धि: लुम्बिनी प्रदेशको नारा”लाई आत्मसात् गर्दै सरकारले आधारभूत कृषि उपजहरूको उत्पादन र उत्पादकत्व बढाउने नीति लिएको छ। यसले प्रदेशमा खाद्य सुरक्षासँगै पोषणको सुनिश्चितता गर्ने विश्वास गरिएको छ।

कृषिमा यान्त्रिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई प्रोत्साहन दिई घरेलु उत्पादनको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने कार्यक्रम अघि सारिएको छ। विशेष गरी कुपोषणयुक्त क्षेत्रमा पोषणयुक्त खाद्यबस्तु उत्पादन गर्ने सघन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

भैंसीपालन कार्यक्रम, साना सिँचाइ आयोजना, र आधुनिक कृषि प्रणालीका विविध आयामहरू पनि नीति तथा कार्यक्रममा समावेश छन्। यस्तै, कृषि उत्पादनलाई पूर्ण रूपमा प्रांगारिकतर्फ रुपान्तरण गर्दै लुम्बिनीलाई निश्चित अवधि भित्र पूर्ण प्रांगारिक प्रदेशका रूपमा विकास गरिने लक्ष्य लिइएको छ।

यस नीतिले कृषि क्षेत्रमा लगानी वृद्धि, कृषकहरूको आयस्तरमा सुधार र समग्र ग्रामीण जीवनस्तर उकास्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। नीति तथा कार्यक्रममाथि छलफलपछि बजेटमार्फत कार्यान्वयन गरिने तयारी प्रदेश सरकारले गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !