२० मंसिर २०८२, शनिबार

युवाको पूँजी,आधुनिक कृषि र लोपन्मुख बाली संरक्षणमा जोड दिइने

प्रकाशित मिति :  19 May, 2025 1:49 pm


दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई युवा, नवप्रवर्तन र वातावरणमैत्री मार्गबाट सशक्त बनाउने स्पष्ट नीति लिएको छ।

‘मेरो मातृभूमि, मेरो दायित्व’ अभियानअन्तर्गत विदेशबाट फर्किएका युवाहरूको पूँजी र सीपलाई उत्पादनमुखी क्षेत्रमा उपयोग गर्दै आधुनिक कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ। सो अभियानमार्फत युवा लक्षित कृषि अनुदान कार्यक्रम समेत अगाडि सारिएको छ, जसले युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

बागबानी स्रोत केन्द्र कपिलवस्तुमा स्थापनाको योजना रहेको छ भने अर्घाखाँचीलाई बाख्रापालनका लागि विशेष क्षेत्रको रूपमा विकास गरिनेछ। यसले दुग्ध तथा मासु उत्पादनमा योगदान दिनुका साथै स्थानीय रोजगारी सिर्जना गर्ने विश्वास गरिएको छ।

प्रदेश सरकारले सिमान्तकृत समुदायहरूका लागि विशेष कृषि कार्यक्रम ल्याउने र माध्यमिक तहका विद्यार्थीहरूलाई कृषि तथा बागबानी शिक्षासँग जोड्ने कार्यक्रम पनि अघि सारेको छ, जसले कृषि शिक्षा र व्यवहारबीचको दूरी घटाउनेछ।

लोपन्मुख बाली संरक्षणमा ध्यान केन्द्रित गर्दै जैविक विविधताको सुरक्षा गरिनेछ भने जलवायु परिवर्तनबाट कृषि प्रणालीमा पर्ने प्रभाव न्यूनीकरणका लागि प्राविधिक सेवासहितका कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख छ।

“घरदैलोमै प्राविधिक सेवा” भन्ने अवधारणा अनुसार व्यवसायिक कृषिजन्य उत्पादनमा सघाउन विशेषज्ञ सेवा प्रदान गरिने नीति लिइएको छ। यो दृष्टिकोणले किसानलाई प्रत्यक्ष सघाउने र उत्पादनमा गुणस्तर तथा परिमाण वृद्धि गर्ने सरकारको आशा छ।



प्रतिक्रिया दिनुहोस !