‘एक घर एक धारा’, बस्ती संरक्षण र दिगो सहरी विकासमा जोड
दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ ०८३ को वार्षिक नीति तथा कार्यक्रममा खानेपानी पहुँच, बस्ती विकास र सहरी पूर्वाधारलाई समेट्ने बहुआयामिक योजना सार्वजनिक गरेको छ।
सबै नागरिकलाई सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न ‘एक घर, एक धारा’ कार्यक्रमलाई पूर्णता दिन विशेष अभियान सञ्चालन गरिनेछ। साथै, दिगो विकासका लक्ष्य ९क्म्न्क० अनुरूप प्रादेशिक लक्ष्यहरू पूरा गर्न स्रोतको व्यवस्थापन गरिने स्पष्ट गरिएको छ।
८० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका खानेपानी आयोजनाहरूलाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ, भने नयाँ आयोजना आवश्यकतानुसार अघि बढाइनेछ।
विद्युतबाट सञ्चालन हुने खानेपानी तथा सरसफाइ आयोजनाहरूमा विद्युत सहुलियत उपलब्ध गराइने, जसले साना तथा ग्रामीण परियोजनामा संचालन खर्च घटाउनेछ।
बास प्रवर्द्धनमा निजी क्षेत्रसँग सहकार्य गरिने नीति लिइएको छ, जसले सहरीकरणलाई व्यवस्थित र लगानीमैत्री बनाउन सघाउनेछ।
खानेपानीसँगै सिचाइ गर्न मिल्ने बहुमुखी आयोजनाहरू पनि सञ्चालन गरिनेछ, जसले पानीको समग्र उपयोगमा सुधार ल्याउनेछ।
बस्ती विकास कार्यक्रममार्फत बसाइँसराइबाट हुने असर न्यूनीकरण गर्न नीति लागू गरिनेछ। परम्परागत बस्तीको संरक्षणका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।
मध्यपहाडी लोकमार्गसँग आर्थिक पहुँच बढाउन सोही मार्गको वरिपरिको बस्ती विकासलाई प्राथमिकता दिइनेछ, जसले यातायातसँगै आर्थिक गतिशीलता प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।








