देश बिग्रियो भने युवाको भविष्य गुम्छ–राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हालको राजनीतिक अवस्थाले युवाहरूमा राजनीति र नेताप्रतिको आस्था कमजोर बनाएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले ‘नेता’ र ‘पार्टी’ शब्द सुन्ने बित्तिकै युवामा वितृष्णा पैदा हुने अवस्था सिर्जना भएको बताए ।
उनले पछिल्लो दशकमा प्रमुख राजनीतिक दलहरूका नेतृत्वले जनताको अपेक्षा पूरा गर्न नसकेको र त्यसकै कारण युवाहरू राजनीतिबाट टाढिँदै गएको धारणा राखे । “देश बिग्रियो भने सर्वप्रथम युवाको भविष्य बिग्रन्छ,” लिङ्देनले भने, “तर अहिलेको राजनीति र नेताको चरित्रले गर्दा युवाले राजनीतिको विकल्प खोज्न थालेका छन् ।”
राप्रपा अध्यक्ष लिङ्देनले देशको प्रमुख समस्याका रूपमा जनशक्ति पलायनलाई औंल्याए । “तीन करोड जनसंख्या भएको देशमा ६० लाखभन्दा बढी विदेशमा हुनु सामान्य कुरा होइन,” उनले भने, “यसको अर्थ देशभित्र रोजगारी छैन, अवसर छैन, नेतृत्वमा भरोसा छैन ।”
शान्तिपूर्ण आन्दोलनको चेतावनी
अध्यक्ष लिङ्देनले जनतामा पर्याप्त जागरुकता र असन्तोष छ भने, शान्तिपूर्ण तर विशाल जनसहभागितामार्फत गणतन्त्र व्यवस्था परिवर्तन गर्न सकिने अभिव्यक्ति पनि दिए । “यदि लाखौँ जनता सडकमा उत्रिएर शान्तिपूर्वक आन्दोलन गरे भने गणतन्त्र एकै दिनमा समाप्त हुन्छ,” उनले भने, “देश कुन बाटोमा जाने हो भन्ने निर्णय अब जनताले नै गर्नुपर्ने बेला आएको छ।”
ज्ञानेन्द्र शाहीको चुनौतीपूर्ण अभिव्यक्ति
उक्त कार्यक्रममा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि तीव्र राजनीतिक टिप्पणी गरे । उनले अबको निर्णय नागरिकको हातमा रहेको भन्दै, “नागरिकहरू चाहन्छन् भने यस्तै नेताहरूलाई स्वीकार गर्ने, नचाहे आफैं उठेर नेतृत्व लिने,” भन्ने धारणा प्रस्तुत गरे । शाहीले जनतामा चेतना वृद्धि भएको र अब नेतृत्व परिवर्तनको आवश्यकता महसुस भइरहेको बताएका थिए ।








