२० मंसिर २०८२, शनिबार

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ १७ गते मोरङमा हुने, २०० भन्दा बढीकाे सहभागिता रहने

प्रकाशित मिति :  29 May, 2025 11:28 am


काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रीय समितिको आयोजनामा तथा जिल्ला समिति, मोरङको समन्वयमा एक दिवसीय संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रम जेठ १७ गते शनिबार मोरङको विराटचोकस्थित रोयल पार्टी प्यालेस, सलकपुरमा हुने भएको नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष कुमार भट्टराईले जानकारी दिए। बिहान ८ बजे सुरू हुने कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा नेसनल प्याब्सनकी केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणाको अध्यक्षता रहनेछ।

केन्द्रीय समितिबाट प्राप्त निर्देशनअनुसार निजी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा संयोजकहरू गरेर २०० भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रममा संगठनात्मक विषय, व्यवस्थापन, शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुभव आदानप्रदानमूलक सत्रहरू सञ्चालन गरिनेछ।

उपाध्यक्ष भट्टराईका अनुसार शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिहरूबिच आपसी समन्वय, अनुभव साटासाट र संगठनात्मक सुदृढीकरणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका डा. सुदन झा, शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्ण बहादुर शाही र आइएनजी ग्रुपका सुलभ बुढाथोकीले प्रशिक्षण सत्र सञ्चालन गर्ने भएका छन्। कोशी प्रदेशअन्तर्गतका सम्पूर्ण नेसनल प्याब्सन सदस्य विद्यालयहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।



प्रतिक्रिया दिनुहोस !