२० मंसिर २०८२, शनिबार

गणतन्त्रको विरोधमा उत्रिएका कमल थापासहित ६ जना राजावादी नेता पक्राउ

प्रकाशित मिति :  1 June, 2025 4:17 pm


काठमाडौँ । गणतन्त्रको विरोधमा प्रदर्शनमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना राजावादी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । गणतन्त्र दिवसको केही दिनपछि सशक्त ढंगमा सडकमा देखापरेका राजावादीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा कमल थापासहित शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् । उनीहरूलाई राजधानीको प्रदर्शनी मार्गस्थित भिडलाई उक्साएको आरोपमा पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए ।

हाल उनीहरूलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ । एसपी बोहोराका अनुसार “अराजक र उक्साहटपूर्ण गतिविधि” को अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो ।

यसबीच, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अध्यक्ष थापाको पक्राउप्रति कडा आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत् चेतावनी दिएका छन् । उनले लेखेका छन्, “खास लडाइँ भोलिबाट सुरु हुन्छ।” लिङ्देनको यस्तो अभिव्यक्तिले राजावादी आन्दोलनले अझ तीव्र मोड लिन सक्ने संकेत देखिएको छ ।

गणतन्त्र दिवसकै दिन, जेठ १५ गतेदेखि विभिन्न राजावादी दल तथा समूहहरू नेपालको गणतान्त्रिक व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका छन् । उनीहरूले राजसंस्थाको पुनःस्थापनाको माग गर्दै राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।

सरकार र सुरक्षा निकायले आन्दोलनकारीको गतिविधि ‘अलोकतान्त्रिक’ भन्दै नियन्त्रण प्रयास गरिरहेका छन् भने राजावादी पक्षले गणतन्त्रले अपेक्षित सफलता नदिएको दाबी गर्दै ‘वैकल्पिक व्यवस्थाको बहस’ सार्वजनिक रूपमा अघि सारेका छन् ।

सुरक्षा दृष्टिकोणले संवेदनशील ठानिएको राजधानी क्षेत्रमा यस्ता विरोध प्रदर्शनलाई कडाइका साथ हेर्ने तयारीमा प्रहरी प्रशासन जुटेको छ । आगामी दिनमा आन्दोलनको स्वरूप कस्तो हुने हो भन्ने चासो चुलिँदै गएको छ ।



प्रतिक्रिया दिनुहोस !