२० मंसिर २०८२, शनिबार

नोटमा पृथ्वीनारायण शाह र बुद्धको तस्बिर राख्न सांसद थापाको प्रस्ताव

“म राजावादी होइन तर एकीकरणकर्ता पृथ्वीनारायण शाहको तस्बिरले नोटको इज्जत बढ्छ”-सांसद थापा
प्रकाशित मिति :  2 June, 2025 1:46 pm


काठमाडौँ । प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले नेपाली मुद्रा (नोट) मा राष्ट्र निर्माता पृथ्वीनारायण शाह र बुद्धको तस्बिर समावेश गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

सोमबार संसदको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकमाथि छलफलका क्रममा उनले यस्तो प्रस्ताव सार्वजनिक रूपमा राखेका हुन् ।

थापाले आफू गणतन्त्र समर्थक भए पनि राष्ट्रिय एकीकरण गर्ने ऐतिहासिक व्यक्तित्वको सम्मानस्वरूप पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखिनु आवश्यक रहेको धारणा व्यक्त गरे ।

“म राजावादी होइन, गणतन्त्र ल्याउन लडेको मान्छे हुँ,” उनले भने, “तर नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको फोटो नोटमा राखे त्यसको इज्जत नै बढ्छ ।”

उनले नेपाली पहिचानका गौरवशाली व्यक्तित्वलाई सम्मान दिनुपर्नेमा जोड दिँदै, बुद्धजस्ता विश्वशान्तिका प्रतीक व्यक्तित्वको तस्बिर पनि नेपाली नोटमा राख्न सकिने सुझाव दिए ।

छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल पनि सहभागी थिए । सांसद थापाको प्रस्तावले राष्ट्रिय मौद्रिक प्रतीकमा ऐतिहासिक र सांस्कृतिक मूल्य जोड्न सकिने विषयमा बहसको खाडल खोलिदिएको छ । सांसद थापाले उठाएको प्रस्तावलाई अर्थ समितिमा गहन छलफलमार्फत सम्बोधन गरिने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !