२० मंसिर २०८२, शनिबार

शंकर पोखरेलको टिप्पणी : “विश्वविद्यालय नवप्रवर्तन केन्द्र बन्न सकेनन्”

प्रकाशित मिति :  3 June, 2025 6:19 pm


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका विश्वविद्यालयहरूलाई नवप्रवर्तन केन्द्रका रूपमा विकास गर्न नसकेको धारणा राखेका छन् ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयहरू अनुसन्धान केन्द्रको रूपमा प्रभावकारी बन्न नसकेको टिप्पणी गरे । उनका अनुसार विश्वविद्यालयहरूबाट गरिने अध्ययन तथा अनुसन्धान व्यवहारिक जीवनमा खासै उपयोगी हुन नसकेको देखिन्छ ।

“कहिलेकाहीँ अन्तर्राष्ट्रिय जर्नलमा कुनै अध्ययन प्रकाशित भयो भन्दैमा मात्रै गर्व गर्ने अवस्था छ,” उनले भने, “तर ती अध्ययनले देशको उत्पादन, उत्पादकत्व, सेवा प्रवाह वा नागरिक जीवनको सुगमता जस्ता क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्न सकेका छैनन् ।”

महासचिव पोखरेलले विश्वविद्यालयहरूबाट गरिने अनुसन्धान र अध्ययन कार्य समाजको व्यावहारिक आवश्यकता र विकाससँग गाँसिन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनले मुलुकको समृद्धिमा योगदान पुर्‍याउनु पर्नेमा जोड दिए ।

साथै, उनले हालको बजेटले उत्पादन वृद्धि, सेवाको प्रवाह, मानव जीवनको सहजता र समग्र उत्पादकत्वमा ध्यान दिएको उल्लेख गर्दै बजेट नीतिले व्यवहारिक विकासका पक्षमा अपेक्षित संकेत दिएको धारणा राखे ।



प्रतिक्रिया दिनुहोस !