२० मंसिर २०८२, शनिबार

संविधान संशोधनको काम तत्काल अघि बढाउनुपर्छ : महामन्त्री थापा

प्रकाशित मिति :  3 June, 2025 6:43 pm


बाँके । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनको काम तत्काल अघि बढाउनुपर्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।

आइतबार नेपाली कांग्रेस, बाँकेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेकपा एमालेसँगको सातबुँदे सहमति अब व्यवहारमा लागू गर्न ढिला गर्न नहुने बताए ।

महामन्त्री थापाले हालको गठबन्धनप्रधान निर्वाचन प्रणालीले मुलुकलाई अस्थिरता र अविश्वासतर्फ धकेलेको आरोप लगाउँदै स्थायित्वका लागि नयाँ बाटो खोजिनुपर्नेमा जोड दिए । “अब एउटा पार्टीले बहुमत ल्याउने खालको संरचना चाहिन्छ, संविधान संशोधनको विकल्प छैन,” उनको भनाइ थियो।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र मास्न नभई अझ प्रभावकारी बनाउन संविधानको पुनरावलोकन जरुरी रहेको बताउँदै महामन्त्री थापाले खर्च कटौतीतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे ।

उनले सङ्घ र प्रदेश सरकारमा मन्त्रीहरूको सङ्ख्या घटाउन सकेमा खर्च व्यवस्थापनमा सघाउ पुग्ने धारणा राख्दै उपराष्ट्रपति, उपसभामुखजस्ता पदहरूको औचित्यमाथि पनि पुनर्विचार गर्नुपर्ने बताए ।

थापाले वर्तमान सङ्घीयताको स्वरूप पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याउँदै, “संविधान संशोधनमार्फत समावेशी र कार्यक्षम संरचना निर्माण गर्नु आजको अपरिहार्यता हो,” भने ।

उनले नेपाली कांग्रेसले सधैँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिँदै आएको र जनताका असन्तुष्टिलाई उदेकका रूपमा लिएर राष्ट्रघाती भावना फैलाउने प्रयासको विरोध गर्दै आएको स्मरण गराए ।

राजसंस्थाको सन्दर्भमा स्पष्ट धारणा राख्दै थापाले नेपालमा राजतन्त्र कहिल्यै संवैधानिक नभएको उल्लेख गरे । जनताबाट प्राप्त अधिकारलाई कायम राख्ने विषयमा कांग्रेस स्पष्ट रहेको बताउँदै उनले अहिलेको चुनौतीलाई सुधारको अवसरका रूपमा लिनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !