राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरलमा सीमित गर्ने निर्णय जनस्वास्थ्य विपरीत-नागरिक समाज
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘प्रथम सेवा विन्दु’ बाट हटाएर ‘रेफरल सेन्टर’ मा सीमित गर्ने स्वास्थ्य बीमा बोर्डको निर्णयप्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साउन १ गतेदेखि लागू हुने उक्त निर्णयले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भन्दै नागरिक समाजले यसलाई अवैज्ञानिक, अव्यवहारिक र जनविरोधी ठहर गरेको छ।
स्वास्थ्य बीमा गरेका नागरिकलाई उपचार सेवा सहज बनाउनु पर्नेमा उल्टो झन्झटिलो बनाउनेगरी गरिएको यस व्यवस्थाले घोराही क्षेत्रमा स्वास्थ्य सेवा पहुँचबाट नागरिकलाई टाढा बनाएको नागरिक समाजको ठहर छ । उनीहरूले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पुनः ‘प्रथम सेवा विन्दु’को रूपमा कायम गर्न स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकायसँग अपिल गरेका छन्।
लुम्बिनी सञ्चारमा “नागरिक अधिकारमाथि कुठाराघात : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्यबाट टाढिँदै” शीर्षकमा समाचार प्रकाशित भएपछि नागरिक समाज दाङले विज्ञप्ति जारी गरी ‘बीमा गरेपछि सहज सेवा पाउने’ भन्ने मूल धारणा नै प्रश्नवाचक बन्न थालेकाले बीमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेकाे छ ।
यो प्रणाली वैज्ञानिक वा व्यवहारिक दुवै दृष्टिले असान्दर्भिक देखिएको भन्दै समाजले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आफैंले एक सूचना प्रकाशन गर्दै ‘स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आफू रेफरल सेन्टर मात्र हो’ भनेर जनाएपछि स्थानीय स्तरमा थप निराशा छाएको जनाएकाे छ ।
बोर्डले तोकेको सूची अनुसार अब दाङ जिल्लामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, स्युजा र श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र तथा बंगलाचुली अस्पताललाई मात्रै प्रथम सेवा केन्द्र मानिनेछ । यीमध्ये कुनै पनि सुविधा नपुगेको ठाउँबाट घोराही आउनु सजिलो नहोला तर घोराहीमै बस्नेहरूका लागि भने यो व्यवस्था चित्त बुझ्दो छैन ।
सस्तो, सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको अपेक्षा बोकेर बीमा गरेका नागरिकहरूलाई फेरि पुरानै प्रशासनिक घेरा घुमाउँदै उपचार पाउने अधिकारबाट टाढा बनाउने काम किन भइरहेको छ भन्ने प्रश्न चुलिँदै गएको छ ।
नागरिक समाज दाङले निर्णय तुरुन्त सच्याउन अपिल गरे पनि बोर्ड र मन्त्रालय यसमा कति संवेदनशील हुन्छन् भन्ने कुराले मात्र अब स्थिति तय गर्नेछ। जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा प्रयोग होइन, अनुभूति आवश्यक हुन्छ। नत्र, बीमा गरेर पनि उपचार नपाउनेहरूको लाम फेरेर गुनासो सुन्ने समय टाढा छैन।
याे पनि पढ्नुहाेस्








