रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमै राख्ने सरकारको निर्णय
काठमाडौँ । लामो समयदेखि तानातानमा रहँदै आएको रुकुम पूर्वको सदरमुकाम विवाद अन्ततः टुंगिएको छ । आज (बुधबार) बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले रुकुम पूर्वको स्थायी सदरमुकाम रुकुमकोट नै रहने निर्णय गरेसँगै यसले दशकौंदेखिको बहसको दिर्घकालीन समाधान दिएको छ ।
मन्त्रिपरिषद्को बैठकले सदरमुकाम रुकुमकोटमै कायम गर्ने निर्णय गरेपछि स्थानीयवासी, नागरिक समाज तथा राजनीतिक वृत्तमा मिलाजुला प्रतिक्रिया देखिएको छ ।
यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमकोट नै उपयुक्त सदरमुकाम भएको भन्दै दिएको अभिव्यक्तिपछि राजनीतिक बहस थप चुलिएको थियो । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहँदा उनले पार्टीको धारणा सार्वजनिक गरेपछि माओवादीभित्रै असन्तोष देखिएको थियो ।
२०७५ सालमा देउवा नेतृत्वको सरकारले गोलखाडालाई सदरमुकाम तोकेको थियो । तर त्यसविरुद्ध परेको रिटमा २०८० भदौ २७ मा सर्वोच्च अदालतको संवैधानिक इजलासले सो निर्णय बदर गर्दै मापदण्डको आधारमा पुनः सदरमुकाम निर्धारण गर्न सरकारलाई निर्देशन दिएको थियो ।








