एमसीसीमा देउवा भन्दा ओली झन कडाः अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस भन्दा नेकपा एमाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जस्ताको त्यस्तै पास हुनुपर्छ भन्नेमा बढी पक्षधर रहेको आरोप लगाएका छन् ।
काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले एमसीसी जस्ताको त्यस्तै हुनुपर्छ भन्नेमा काँग्रेस सभापति शेरबहादुर देउवा भन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झनै कडा पाएको बताएका हुन् ।
दाहालले एमसिसी जस्ताको त्यस्तै पास गर्न दिनु हुँदैन भनेर एमालेसँग छलफल गर्दा काँग्रेस भन्दा बढी पक्षधर रहेको पाएको बताए । एमसिसी जस्ताको त्यस्तै पास हुन नदिनका लागि काँग्रेस र एमालेसँग बारम्बार छलफल गर्दा पनि सहमति नजुटेपछि मन नलागी नलागी एमाले नेतृत्वसँग छलफलका लागि आफूहरु गएको स्मरण गरेका थिए ।
“जसरी पनि एमसीसी पारित हुने भयो । हामीले रोक्नसक्ने स्थिति भएन । काँग्रेस दृढ अडानमा छ । एमाले र काँग्रेस मिलेपछि भइहाल्छ । एमाले नेतृत्वबाट सँगै समझदारी गरेको, कार्यदल बनाएकोबाट आश गरेको त झन कडा । काँग्रेस भन्दा त केपी ओली त झन कडा,” उनले भने, “झगडा गर्दागर्दै पनि यही विषयको गम्भीरता र महत्वलाई ध्यान दिएर देशको लागि जाने हो के लाज मान्ने हो र ? देशको भलो हुन्छ भने जोसँग भएपनि वार्ता गर्न के हुन्छ भनेर अफ्ठ्यारो मानि मानि गएका थियौँ । तर यति नमिठो, यति तीतो र यति अपमानजनक भाषा उहाँले प्रयोग गर्नुभयो।”








