बजेट कार्यान्वयनमा समयतालिका बनाएर अघि बढ्न अर्थमन्त्री पौडेलको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न स्पष्ट समयतालिका बनाएर काम अघि बढ्न सचिवहरूलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा आज आयोजित उच्चस्तरीय बैठकमा अर्थमन्त्री पौडेलले बजेटसम्बन्धी वार्षिक योजना र सो अनुरूपको कार्यतालिका बनाई कार्यान्वयनमा लाग्न निर्देशन दिए ।
उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले समन्वयात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै, निर्धारित समयमा प्रभावकारी कदम चालेर परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्न सचिवहरूलाई आह्वान गरे ।
बैठकमा उनले गैरकर राजस्वको स्रोत विस्तारको आवश्यकतामा पनि जोड दिए । “विद्यमान कानुनी व्यवस्था र सीमाभित्र रही गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नु अहिलेको आवश्यकता हो,” मन्त्री पौडेलले भने ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु एक खर्ब २८ अर्ब बराबरको गैरकर राजस्व संकलन भएको थियो, जुन कुल राजस्वको १०.९ प्रतिशत हिस्सा हो । यसै सन्दर्भमा आजको बैठकमा गैरकर राजस्वको थप सम्भावित स्रोतहरूको पहिचान गर्दै त्यसको कार्यान्वयनका विषयमा गहन छलफल भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ।
बैठकमा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयका अन्य वरिष्ठ सचिवहरू तथा सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो । मन्त्री पौडेलको निर्देशनसँगै बजेट कार्यान्वयनमा स्पष्ट योजना र समयावधि तय गरिने आशा गरिएको छ ।








