१९ मंसिर २०८२, शुक्रबार

विश्व आदिवासी दिवसमा मन्त्री गुरुङकाे सम्बाेधन : ‘एआईको अधिकतम लाभ लिन सक्नुपर्छ’

प्रकाशित मिति :  9 August, 2025 3:48 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कृत्रिम बुद्धिमत्ता (एआई)लाई सही तरिकाले प्रयोग गर्न सके सबै देशले यसको अधिकतम लाभ लिन सक्ने बताएका छन् ।

३१औँ विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘आदिवासी जनजाति र कृत्रिम बौद्धिकताः अधिकारको रक्षा र भविष्यको निर्माण’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री गुरुङले विश्वका धनी वा गरिब सबै मुलुकले एआईको प्रयोगबाट लाभ लिन सक्ने सम्भावना रहेको उल्लेख गरे ।

उनले वर्तमानमा कृषि, स्वास्थ्य, शिक्षा, सुशासन, पर्यटन, उद्योग र विपत्ति व्यवस्थापनलगायत विकासका हरेक क्षेत्रमा एआईको प्रयोग बढ्दो क्रममा रहेको जानकारी दिँदै यी क्षेत्रमा प्रविधिको दिगो र सुदक्ष प्रयोगका लागि काम भइरहेको बताए ।

“एआई हाम्रो लागि अवसर हो, तर यसको प्रयोग ठीक ढङ्गले गर्न नसके चुनौती बढ्छ । ती चुनौती कम गर्ने उपायबारे पनि छलफल भइरहेका छन्,” मन्त्री गुरुङले भने ।

आदिवासी जनजातिसम्बन्धी संवैधानिक, कानुनी र नीतिगत अधिकारको खोजी गरी त्यसको कार्यान्वयन र थप अधिकार सुनिश्चित गर्न एकजुट हुनुपर्नेमा पनि उनले जोड दिए ।

विश्व आदिवासी दिवस सन् १९८२ को ९ अगस्टमा संयुक्त राष्ट्रसंघको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक बसेको दिनको स्मरणमा मनाइँदै आएको हो ।

संयुक्त राष्ट्रसंघका अनुसार हाल विश्वभर करिब ६० करोडभन्दा बढी आदिवासी जनजाति छन्, जसको बसोबास ९० भन्दा बढी देशमा छ । उनीहरूले सात हजारभन्दा बढी भाषामध्ये करिब पाँच हजार भाषा प्रयोग गर्दै आएका छन् ।

नेपालमा बोलिने १२४ भाषामध्ये ९३ भाषा आदिवासी जनजातिका हुन् । विश्वका ८० प्रतिशत खाद्य उत्पादन आदिवासी ज्ञानमा आधारित छन् । उनीहरूको बसोबास पृथ्वीको २८ प्रतिशत भूभागमा रहेको छ र ८५ प्रतिशत जैविक विविधताका संरक्षक पनि उनीहरू नै हुन् ।

कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले विशिष्ट ज्ञान र सीपका धनी आदिवासी समुदायको संरक्षण र संवर्द्धन गर्नु राज्यको दायित्व भएको बताए ।



प्रतिक्रिया दिनुहोस !