पार्टीका विषयमा आन्तरिक फोरममै छलफल गर्नुपर्छ- महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका आन्तरिक विषयमा सम्बन्धित फोरमभित्रै छलफल गर्नुपर्ने बताएका छन् ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिवालयको आठौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले हाल पार्टीको विधान संशोधनमाथि केन्द्रित भएर छलफल गर्न आग्रह गरे ।
उनका अनुसार विधानका तीन महल प्रदेशका अधीनस्थ कमिटीमा पठाइसकेको र त्यसमा छलफल गरी आवश्यक सुझाव दिनुपर्ने आवश्यकता छ ।
उनले पार्टी कमिटीबाहिर रहेका जिम्मेवार कार्यकर्ता र सदस्यलाई पनि छलफलमा सहभागी गराउने वातावरण बनाउन निर्देशन दिए । यसका लागि प्रदेश तथा जिल्ला कमिटीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
सभामुख र राष्ट्रपतिको राजनीतिक भूमिकाबारे बोल्दै महासचिव पोखरेलले सभामुख भएपश्चात पार्टी सदस्यता स्थगित हुने तर राष्ट्रपति बनेपछि संगठित सदस्यता परित्याग गर्नुपर्ने व्यवस्था फरक भएको उल्लेख गरे ।
राष्ट्रको अभिभावक भइसकेको व्यक्तिले कुनै पार्टीको नयाँ सदस्यता लिएर राजनीतिमा फर्कनु उपयुक्त नहुने उनको धारणा छ । दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाउने प्रावधान पार्टीको दशौँ महाधिवेशनले हटाइसकेको र यो विषय पहिले नै टुंगिएको उनले स्पष्ट पारे ।
त्यस्तै, ७० वर्षको उमेर सीमा मुकुन्द न्यौपानेको पार्टी प्रवेशसँगै केन्द्रीय कमिटी सदस्य बनाउने प्रस्तावमा केन्द्रीय कमिटीको बैठकले सर्वसम्मतिले स्थगन गरेको जानकारी पनि उनले दिए। यस विषयलाई लिएर अनावश्यक बखेडा नगर्न उनले आग्रह गरे ।
बैठक वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज डा. राजन भट्टराई लगायतको मन्तव्य सुन्नेबाहेक, सचिवालय सदस्य र जिल्ला अध्यक्षहरूले रिपोर्टिङसहित विधान संशोधनबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए ।








