राष्ट्रियसभामा युवासम्बन्धी व्यवस्था व्यवहारिक कार्यान्वयनको माग
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समावेश युवासम्बन्धी योजनाहरू व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् ।
आजको राष्ट्रियसभा बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सांसद मदन कुमारी शाह (गरिमा) ले विगतका वर्षहरूमा युवालाई लक्षित नीति तथा कार्यक्रम र बजेट व्यवस्था भए पनि त्यसको कार्यान्वयनमा कमी देखिएको बताइन् ।
उनले सार्वजनिक नीति प्रत्यायोजित विधायन समितिले यसअघि नै युवामुखी कार्यक्रमहरू समावेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको उल्लेख गर्दै, मन्त्रालयले युवालाई प्राथमिकतामा राखे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् ।
सांसद शाहले संरक्षण र पूर्वाधार अभावका कारण मार्ग संकेत नहुँदा वणीमालिका मन्दिर जाने भक्तजन र पर्यटकले कठिनाइ भोग्नु परेको भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्। उनले देशमा लोकतन्त्र, गणतन्त्र र संविधान आए पनि महिलाको अधिकारका सवालमा पितृसत्तात्मक सोच अझै हावी रहेको टिप्पणी गरिन्। बहुविवाहलाई प्रोत्साहन गर्ने जस्तो देखिने कानुनी प्रस्ताव ल्याउने प्रयास भएको भन्दै उनले बहुविवाह गर्न पाउने विधेयक तत्काल रोक्नुपर्ने माग गरिन्।
त्यस्तै, सांसद विष्णुदेवी पुडासैनीले बर्सातका कारण देशका विभिन्न स्थानमा सडक भत्किएर जनताले यातायातमा कठिनाइ भोगिरहेको बताइन्। चाडपर्व नजिकिँदै गर्दा आवश्यक उपभोग्य वस्तुको मूल्य वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै उनले जनजीवन सहज बनाउन सरकारसँग आग्रह गरिन्।
पुडासैनीले प्राकृतिक प्रकोप र कानुनी कमजोरीका कारण निर्माणाधीन सडकहरू समयमा सम्पन्न हुन नसकेको उल्लेख गर्दै ती परियोजनाहरूलाई समयमै सम्पन्न गर्न पहल गर्न सरकारलाई सुझाव दिइन्।
यसैगरी, सांसदहरूले बजेटमा समावेश युवासम्बन्धी र पूर्वाधार विकासका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै तत्कालीन आवश्यकता समाधानमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।








