प्रधानमन्त्री ओलीको आग्रह : सबै भूमिहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि समस्या समाधान आयोगलाई सबै भूमिहीनलाई लालपूर्जा वितरण गरेर ऐतिहासिक काम गर्न आग्रह गरेका छन् ।
आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका साथ परिणाममुखी कार्य गर्न सकिने वातावरण रहेको बताए ।
प्रधानमन्त्री ओलीले अबको दुई साताभित्र बाँकी रहेका सबै जिल्लास्थित आयोगहरूलाई पूर्णता दिन निर्देशन दिए । “यो आयोग विगतका जस्तै असफल हुनका लागि होइन, काम गरेर भूमिहीन र अव्यवस्थित बसोबासीलाई जमिन दिलाउनका लागि गठन गरिएको हो,” उनले भने, “आवश्यक परे कानुन संशोधन वा सरकारी सहयोग उपलब्ध गराइनेछ।”
उनका अनुसार मुलुकको विशेष परिस्थितिमा दुई ठूला दलको सहकार्यमा बनेको यो गठबन्धन २०८४ सम्म स्थिर रूपमा सञ्चालन हुनेछ, जसले आयोगको कार्यमा कुनै अवरोध हुन नदिने स्पष्ट सन्देश दिएको छ ।
प्रधानमन्त्री ओलीले आयोगको नेतृत्वलाई विभिन्न स्वार्थ समूहको प्रभावबाट जोगिन चेतावनी दिँदै, बदनाम हुने गरी काम नगरी इमान्दारीपूर्वक भूमिहीनको पक्षमा परिणाम दिने कार्यमा जुट्न आग्रह गरे ।
प्रधानमन्त्रीको भनाइअनुसार, स्थिर सरकारको अवसरलाई सदुपयोग गर्दै आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरणको प्रक्रिया छिटो पूरा गर्नुपर्नेछ ।








