१९ मंसिर २०८२, शुक्रबार

कृषिमा आत्मनिर्भरता : चाँगुनारायणको ‘एभोकाडो मोडल’बाट सिकौँ-प्रचण्ड

प्रकाशित मिति :  15 August, 2025 5:12 pm


काठमाडाैँ । भक्तपुरको चाँगुनारायणमा एभोकाडोका हरिया बोटहरू मात्र होइन, आत्मनिर्भर नेपालको सपना पनि पलाइरहेको छ। यही सन्देश दिँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक स्थानीय तहलाई आफ्नो माटो र मौसमअनुसारको कृषि प्रणाली रोज्न आग्रह गरे।

चाँगुनारायणमा सम्पन्न ‘सिटी एभोकाडो अभियान’को समापन तथा अभियन्ता सम्मान कार्यक्रममा बोल्दै दाहालले भने, “यो अभियानको सफलताबाट सात सय ५३ वटै स्थानीय तहले पाठ सिक्नुपर्छ । आफ्नो क्षेत्रको माटो सुहाउँदो कृषि र फलफूल उत्पादन गर्न सकियो भने, नेपाल कृषिमा आत्मनिर्भर बन्न समय लाग्दैन ।”

उनका अनुसार, राष्ट्रिय समृद्धिको बाटो मौलिक र आत्मनिर्भर अर्थतन्त्रबाट मात्र सम्भव छ। पछिल्लो समय ‘देशमै केही गरौँ, देशमै आत्मनिर्भर बनौँ’ भन्ने भावना लिएर युवाहरू समूहगत रूपमा अघि आएको देख्दा आशा पलाएको दाहालको भनाइ थियो । विदेशी मोडलको अन्धानुकरणलाई उहाँले दुर्भाग्यपूर्ण प्रवृत्ति बताउँदै, “आफ्नो देशमा रोजगारी सिर्जना गर्नेतर्फ सबैले हात हाल्नुपर्छ,” भने ।

नेपालमा प्राकृतिक स्रोतसाधन, कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दाहालले सकारात्मक सोच र रचनात्मक पहलका साथ अघि बढेमा देशको विकास टाढा नरहेको दोहोर्याए । उनले विदेशिने संस्कृतिलाई निरुत्साहित गर्दै, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई ‘नयाँ नेपाल’ निर्माणको आधार बनाउन सबैलाई आह्वान गरे ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, चाँगुनारायण नगरपालिकाका पूर्वप्रमुख सोम मिश्र, माओवादी केन्द्रका नेता तथा अभियानका अभियन्ता डिपी ढकाल, संयोजक नरेश खड्का लगायतले एभोकाडो अभियानले ल्याएको नयाँ सोच र ऊर्जा बारे अनुभव बाँडे ।



प्रतिक्रिया दिनुहोस !