एमाले लोकतन्त्रको मानक स्थापना गर्ने पार्टी हो- महासचिव पोखरेल
महेन्द्रनगर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई लोकतन्त्रको मानक स्थापना गर्ने पार्टीको रूपमा प्रस्तुत गरेका छन् ।
आइतबार कञ्चनपुरमा सम्पन्न नेकपा एमाले जिल्ला कमिटीको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउन एमालेले गरेका निर्णयहरू अन्य राजनीतिक दलका लागि पनि मार्गदर्शक हुने बताएका हुन्।
महासचिव पोखरेलले पूर्वराष्ट्रपतिलाई पुनः राजनीतिक भूमिकामा ल्याउनु अनुचित हुने स्पष्ट गर्दै एमालेले यस विषयमा दूरदर्शी निर्णय गरेको बताए ।
उनका अनुसार, राष्ट्रको अभिभावक र सेनाको परमाधिपति बनेर साझा व्यक्तिको रूपमा स्थापित भइसकेका व्यक्तिले राजनीतिमा फर्कनु लोकतान्त्रिक मान्यतासँग मेल खाँदैन। “यो निर्णय विद्यादेवी भण्डारीकै लागि मात्र होइन, भविष्यका लागि पनि उदाहरण हो,” उनले भने।
उनले नेकपा माओवादी केन्द्रले पूर्वराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्काएर गम्भीर गल्ती गरेको आरोप लगाउँदै यसलाई सच्याउनुपर्नेमा जोड दिए। पोखरेलका अनुसार, एमालेको निर्णय लोकतन्त्रलाई सबल बनाउने दिशामा भए पनि माओवादीको कदम लोकतान्त्रिक मान्यताको विपरीत छ।
बैठकमा महासचिव पोखरेलले दशौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षको दुई वर्षे कार्यकाल हटाउने निर्णयलाई लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने प्रयासका रूपमा व्याख्या गरे। त्यस्तै, उनले भीम रावल पार्टी हित विपरीत क्रियाकलापमा संलग्न भएकाले पार्टी छाड्नुपर्ने स्थिति आएको उल्लेख गरे।
“जनताले अराजकता र पार्टीभित्रको विद्रोही प्रवृत्ति स्वीकार गर्दैनन्,” उनले चेतावनी दिँदै भने, “पार्टीको विधि र अनुशासन पालना गरेर मात्र मिसन–८४ लाई सफल बनाउन सकिन्छ र एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन सकिन्छ।”
उनले कांग्रेस–एमाले नजिकिएपछि प्रचण्डमा बेचैनी देखिएको टिप्पणी गरे। रास्वपाबारे टिप्पणी गर्दै उनले यसलाई निराशा, कुष्ठा र पपुलिज्ममा जन्मिएको पार्टी ठहर गरे। “अराजकता र पपुलिज्मको आयु लामो हुँदैन,” उनले भने।
महासचिव पोखरेलले सरकारविरुद्ध बदमासीलाई प्रतिशोधका रूपमा प्रचार गरिएको भ्रामक दाबी पनि अस्वीकार गरे। उनले कार्यकर्ताहरूलाई चौतर्फी घेराबन्दीको प्रतिवाद गर्दै जनताको युगलाई चुनौती दिने शक्तिहरूसँग सशक्त रूपमा भिड्न निर्देशन दिए।








