१९ मंसिर २०८२, शुक्रबार

हिन्दुकुश–हिमालय सम्मेलन उद्घाटन : जलवायु चुनौती सामना गर्न सहकार्य आवश्यक–परराष्ट्रमन्त्री राणा

प्रकाशित मिति :  18 August, 2025 1:14 pm


काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनको चुनौती सामना गर्न सरकार मात्र पर्याप्त नभई सबैको सहकार्य आवश्यक रहेको बताएकी छिन् ।

काठमाडौँमा आजदेखि सुरु भएको हिन्दुकुश–हिमालय सांसदहरूको सम्मेलनको उद्घाटन सत्रमा उनले जलवायु संकट अब टाढाको पूर्वानुमान नभई दैनिक यथार्थ बनेकाले साझा प्रतिबद्धता र सहकार्यको खाँचो रहेको स्पष्ट पारिन् ।

उनले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र शुद्ध वायुको आवश्यकता जस्ता चुनौतीहरूलाई समाधान गर्न सांसदहरूको सक्रिय नेतृत्व, आवाज र संकल्प जरुरी रहेको उल्लेख गर्दै भनिन्, “हामी जनप्रतिनिधि केवल नीति निर्माता मात्र होइनौं, जनताको आशा र भविष्यका संरक्षक पनि हौं ।”

विश्व मौसम संगठनको पछिल्लो प्रतिवेदनले विश्व तापक्रम वृद्धि १.५ डिग्री सेल्सियस नजिक पुगेको तथ्य प्रस्तुत गरेको सन्दर्भ दिँदै मन्त्री राणाले पेरिस सम्झौताअन्तर्गतको लक्ष्य गम्भीर संकटमा परेको औंल्याइन् ।

उनले अन्तर्राष्ट्रिय अदालतले जारी गरेको मतले जलवायु परिवर्तनलाई राष्ट्रहरूको कानुनी, नैतिक र राजनीतिक दायित्वको रूपमा परिभाषित गरेको पनि स्मरण गराइन् ।

हालै भारत, पाकिस्तान र नेपालमा आएको ठूलो बाढीले ठूलो जनधनको क्षति भएको उदाहरण प्रस्तुत गर्दै उनले हिन्दुकुश–हिमालय क्षेत्र जलवायु परिवर्तनका दृष्टिले अत्यन्त संवेदनशील रहेको बताइन् ।

उनको भनाइमा, नेपाल विश्वकै जलवायु संवेदनशील मुलुकमध्ये एक हो । “हाम्रो कार्बन उत्सर्जन नगण्य भए पनि हामी दीर्घकालीन जलवायु अन्यायको शिकार भएका छौं,” मन्त्री राणाले भनिन् ।

नेपालले सन् २०४५ सम्म नेट–जिरो इकोनोमी बन्ने लक्ष्य लिएको, महत्वाकांक्षी राष्ट्रिय योगदान (NDC) प्रस्तुत गरेको तथा सगरमाथा संवादमार्फत विश्वलाई २५ बुँदे कार्ययोजना प्रस्तुत गरेको जानकारी पनि उनले दिइन् । यी लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय सहकार्य, जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता निर्माण अपरिहार्य रहेको उनको भनाइ थियो ।

सम्मेलनमा हिन्दुकुश–हिमालय क्षेत्रका विभिन्न मुलुकका सांसदहरू, उच्च सरकारी पदाधिकारी, जलवायु क्षेत्रका विज्ञलगायत सहभागी रहेका छन् । सम्मेलनमा क्षेत्रीय सहकार्यका माध्यमबाट जलवायु चुनौती समाधान गर्ने उपायहरूमा छलफल हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !