मुलुककाे अर्थतन्त्र लयमा फर्किँदै छ-महासचिव पाेखरेल
कञ्चनपुर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार अत्यन्त प्रभावकारी देखिएको दाबी गरेका छन् । प्रेस चौतारी कञ्चनपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दुई ठूला पार्टी एमाले र नेपाली कांग्रेसको सहकार्यमा बनेको सरकारले मुलुकलाई आर्थिक र राजनीतिक स्थायित्वतर्फ डोर्याइरहेको बताएका हुन् ।
महासचिव पोखरेलका अनुसार, सरकार गठनको मूल उद्देश्य मुलुकको सङ्कटग्रस्त अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा फर्काउने, सुशासन कायम गर्ने र स्थायित्वको आधार तयार गर्ने हो ।
उनले भने, “अघिल्लो सरकार हुने बेलासम्म राष्ट्रसेवक कर्मचारीले समयमा तलब पाउँदैनथे, निर्माण व्यवसायीले आफ्नो मेहनतको भुक्तानी लिन सक्दैनथे । अहिले भने पुँजीगत खर्च बढेको छ, विदेशी मुद्राको सञ्चिती इतिहासकै उच्च विन्दुमा पुगेको छ र व्यापार व्यवसायमा उल्लेख्य वृद्धि भएको छ ।”
उनले हाल आयात र निर्यात दुवै बढेको तथ्याङ्कले पनि अर्थतन्त्रमा सकारात्मक सन्देश दिएको उल्लेख गरे । सामाजिक सञ्जालमा सरकारबारे हुने हल्लाप्रति टिप्पणी गर्दै महासचिव पोखरेलले केवल अफवाहका आधारमा सरकारलाई असफल भन्न नमिल्ने धारणा रारे ।
त्यसैगरी, पछिल्लो समय सरकारले अघि सारेको मिडिया काउन्सिल विधेयकबारे उनले स्पष्ट पार्दै भने, “यो विधेयक सूचनाको हकलाई प्रत्याभूत गर्ने उद्देश्यले आएको हो । लोकतन्त्रका लागि लडेका पार्टीले संविधानमा सुनिश्चित गरिएको हक कुण्ठित हुने कानुन बनाउँदैनन्, त्यसमा ढुक्क रहनुहोस् ।”
सामाजिक सञ्जालले स्वतन्त्रताका नाममा अराजकता बढाएको भन्दै उनले सरकारले त्यसलाई संयमित गर्न खोजेको बताए ।पत्रकार सम्मेलनमा उनले सरकारले गरेको आर्थिक उपलब्धि र सुशासन प्रवर्द्धनका प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।








