राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा हिन्दुकुश हिमालय क्षेत्रका देशलाई साझा एजेण्डामा काम गर्न आह्वान
काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले हिन्दुकुश हिमालय क्षेत्रका मुलुकहरूलाई जलवायु परिवर्तनका असरबारे साझा एजेण्डा बनाएर अघि बढ्न आग्रह गरेकी छन् ।
मंगलवार काठमाडौँमा भएको हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उनले क्षेत्रका मुलुकहरूको पारिस्थितिकी प्रणाली, सामाजिक तथा आर्थिक चुनौतीहरू साझा मुद्दा भएकाले सामूहिक प्रयास अपरिहार्य रहेको बताइन् ।
उनका अनुसार वायु प्रदूषण, जैविक विविधताको ह्रास र जलवायु परिवर्तनबाट सिर्जित संकट यस क्षेत्रका साझा चुनौती हुन् । “स्वच्छ हावामा श्वास फेर्न पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो,” उपाध्यक्ष घिमिरेले भनिन्, “यस क्षेत्रमा विद्यमान जैविक विविधताको संरक्षण र व्यवस्थापन गरेर मात्र समुदायले लाभ पाउनेछ र समाजको जलवायु उत्थानशीलता पनि बढ्नेछ ।”
समावेशी र सुदृढ हिन्दुकुश हिमालयन निर्माण गर्न क्षेत्रीय एकता र सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने उनको भनाइ छ । हिमालदेखि महासागरसम्मका सबै नागरिकलाई स्वच्छ हावामा श्वास फेर्न पाउने वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको उनले उल्लेख गरिन् ।
जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न यस क्षेत्रका मुलुकहरूले महत्वाकांक्षी कदम चाल्नुपर्नेमा जोड दिँदै उनले भूगोल फरक भए पनि समस्या साझा भएकाले एकीकृत कानून निर्माण गरेर समाधान खोज्नुपर्ने धारणा राखिन् ।








