भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग रुटबारे छलफल हुने-मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनमा ल्याउन भारतसँग आवश्यक रुटबारे छलफल हुने बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसद मायाप्रसाद शर्माले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा रुटका विषयलाई प्राथमिकताका साथ उठाइने जानकारी दिइन् । उनले भ्रमणका बेला स्पष्ट ढंगले वार्ता गरी नेपालले आवश्यक पर्ने उडान रुट प्राप्त गर्ने लक्ष्य राखिएको बताइन् ।
मन्त्री पाण्डेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउन हालको सरकारले विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्रिपरिषद्ले दुवै विमानस्थल सञ्चालनका लागि कार्ययोजना पास गरिसकेको जानकारी दिइन् । उनका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने भिसा सेन्टर, अध्यागमन, श्रम कार्यालय, क्वारेन्टाइनलगायतका पूर्वाधार उपलब्ध गराउने तयारी भइरहेको छ ।








