हरितालिका तीज : धार्मिक श्रद्धा र सामाजिक उल्लासका साथ मनाइँदैछ
काठमाडाैँ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। विगत केही दशकयता तीजलाई मुख्यतः गीत–नृत्य र दर खाने पर्वका रूपमा मात्रै लिइए पनि यसको ऐतिहासिक–धार्मिक पृष्ठभूमि र आध्यात्मिक महत्त्व निकै गहिरो छ।
पौराणिक कथासँग जोडिएको व्रत
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पति पाएको पौराणिक विश्वास छ। पार्वतीको इच्छाविपरीत उनका पिता हिमालयले विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूले उनलाई हरण गरेर लुकाए ।
त्यही स्थानमा पार्वतीले निराहार व्रत बस्दै महादेवलाई पति रूपमा प्राप्त गरिन् । यही प्रसङ्गबाट “हरितालिका” शब्दको उत्पत्ति भएको हो, जसमा हरित को अर्थ हरण गरिएको र आलिका को अर्थ साथी हुन्छ ।
व्रतको विविधता
धर्मशास्त्रविद्हरूका अनुसार तीजको व्रत केवल महिलाको मात्र नभई महिला–पुरुष दुवैले गर्न मिल्ने धार्मिक विधान छ। निराहार, जलाहार र फलाहार गरी यसलाई तीन प्रकारले बस्न सकिन्छ । प्रा. डा. रामचन्द्र गौतमका शब्दमा, “व्रत बस्दा आत्माको रक्षा गर्नु जरुरी हुन्छ। स्वास्थ्य अवस्था अनुसार फलाहार वा जलाहार पनि उत्तम हुन्छ ।”
तीजलाई सामान्यतया श्रीमान्को दीर्घायुको लागि बसिन्छ भन्ने बुझाइ भए पनि अटल सौभाग्य, सन्तान प्राप्ति तथा अविवाहित केटा–केटीले गुण सम्पन्न जीवनसाथी पाउनका लागि पनि यो व्रत बस्ने शास्त्रीय विधान रहेको छ।
दर खाने परम्परा
तीज निराहार व्रत भएकाले अघिल्लो रात छोरीचेलीलाई दाजुभाइ वा माइतीले बोलाएर विशेष भोजन खुवाउने परम्परा छ, जसलाई दर भनिन्छ ।
शास्त्रीय मान्यताअनुसार भाद्र शुक्ल द्वितीयाको रातमै दर खाने हो तर पछिल्ला वर्षमा दर खाने उत्सव एक महिना अघिदेखि नै सुरु हुने गरेको छ।
संस्कृतिविद्हरू यसलाई विकृति मान्छन्। किनभने यसले मौलिक संस्कारभन्दा बढी तडकभडक र प्रदर्शनलाई प्राथमिकता दिन थालेको छ, जसले नहुनेलाई खिन्न तुल्याउँछ ।
सामाजिक र सांस्कृतिक आयाम
तीज महिलाले वर्षभरि भोगेका पीर–दुःख पोख्ने अवसर पनि हो। लोकगीत र नृत्यका माध्यमबाट उनीहरूले आफ्ना पीडा, सामाजिक अन्याय र भोगाइलाई प्रस्तुत गर्ने चलन यस पर्वको मौलिक विशेषता हो । यही कारण तीज केवल धार्मिक न रहँदै सामाजिक चेतनाको पर्व पनि हो ।
तर पछिल्ला वर्षमा मौलिकता हराउँदै व्यावसायिक गीत–संगीत, गहना–पोशाकको प्रदर्शन र उच्छृङ्खलताले मूल उद्देश्यलाई ओझेल पारिरहेको देखिन्छ । संस्कृतिविद्हरूको जोड भनेको तीजलाई संयम, आत्मानुशासन र सौहार्दपूर्ण ढङ्गमा मनाउनुपर्छ भन्नेमा छ।
ऋषि पञ्चमीसँगको सम्बन्ध
भाद्र शुक्ल तृतीयादेखि सुरु हुने तीज पर्व चौथीका दिन गणेश पूजा हुँदै पञ्चमीका दिन सप्तऋषि र अरुन्धतीको पूजा–आराधनासँग सम्पन्न हुन्छ । यसरी तीज केवल एक दिनको नभई ऋषि पञ्चमीसम्मको धार्मिक पर्वका रूपमा मनाइन्छ।
हरितालिका तीज आज नारी–पुरुष दुवैले बस्न सक्ने व्रत हो। यसलाई संकुचित दृष्टिकोणबाट होइन, परिवारिक सुख–शान्ति, आत्मानुशासन र सामाजिक सद्भावको पर्वका रूपमा हेर्नु जरुरी छ। गीत, नृत्य, दर र सिंगारपिचार तीजको सौन्दर्य हो तर यसको वास्तविक सार भने शील, सौजन्य र उदारतामा निहित छ ।








