१९ मंसिर २०८२, शुक्रबार
विशेष सम्पादकीय

जेन-जीको आन्दोलन : आक्रोशदेखि आशासम्म

प्रकाशित मिति :  8 September, 2025 9:27 am


भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध सुरु भएको जेन–जी पुस्ताको आन्दोलन डिजिटल क्षेत्रबाट सडकसम्म फैलिएको छ। आज बिहानै काठमाडौँको माइतीघर र बानेश्वर क्षेत्रमा हजारौं युवाहरू भेला भएका छन् । उनीहरूको हातमा मोबाइल छ, साथमा सामाजिक सञ्जालमा उठाइएका आवाजलाई सडकमा प्रतिध्वनित गर्ने दृढता छ। पछिल्ला केही दिनदेखि टिकटक र रेडिटमा ‘नेपो किड’ र ‘नेपो बेबी’ भन्ने ट्रेन्ड चलिरहेको थियो । सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेपछि यो ट्रेन्डले झनै ठूलो राजनीतिक र सामाजिक अर्थ ग्रहण गर्‍यो । डिजिटल माध्यममा मात्र सीमित भएको आलोचना सडक प्रदर्शनमा परिणत भयो । ‘हामी नेपाल’ नामक संस्थाले औपचारिक रूपमा प्रदर्शनको अनुमति मागेको थियो र संस्थाका अध्यक्ष सुदन गुरुङले आन्दोलनलाई भ्रष्टाचार र प्रतिबन्धविरुद्धको आवाजका रूपमा प्रस्तुत गरेका छन् । उनका अनुसार सामाजिक सञ्जालमाथिको प्रतिबन्धले युवा पुस्ताको विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गरेको छ, जुन कुरा लोकतन्त्रको आत्मासँगै युवाको भविष्यलाई पनि अपमानित गर्ने खालको छ ।

आन्दोलन किन जेन–जी पुस्ताले उठाएको भन्ने प्रश्न महत्त्वपूर्ण छ । सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवाहरूलाई सामान्यतया ‘जेन–जी’ भनिन्छ । यो पुस्ता सामाजिक सञ्जालमै हुर्किएको, डिजिटल उपकरणमा परिपक्व भएको र अभिव्यक्तिको माध्यमका रूपमा अनलाइनलाई प्राथमिकता दिने पुस्ता हो । उनीहरूले लामो समयदेखि टिकटक र रेडिटमार्फत राजनीतिक परिवारका सन्तानलाई प्रश्न गर्दै आएका छन् । सामान्य जनताले दुःख गरेर विदेश जानुपर्ने अवस्था छ भने राजनीतिक परिवारका सन्तानले करदाताको पैसामा विलासी जीवन बिताएको देख्दा उनीहरूको आक्रोश उब्जिएको हो । यही कारणले ‘नेपो किड’ वा ‘नेपो बेबी’ भन्ने शब्द नेपालमा पनि लोकप्रिय भएको छ। यद्यपि यो शब्द हलिउड र बलिउडमा फिल्म क्षेत्रका सन्तानलाई आलोचना गर्न प्रयोग हुन्थ्यो, नेपालमा यसलाई राजनीतिक परिवारसँग जोडिएको छ। सामान्य युवाले महँगो शिक्षा, रोजगारी र अवसर पाउन संघर्ष गर्नुपर्नेमा केही विशेष वर्गका सन्तानले मात्र नातावादका आधारमा सहजै सबथोक पाएको देख्दा यो पुस्ता असन्तुष्ट भएको छ।

यो असन्तुष्टिले आलोचना मात्र होइन, समर्थन र विरोध दुबै खालका प्रतिक्रियाहरू जन्माएको छ । कतिपयले यो ट्रेन्डलाई व्यक्तिगत गोपनीयतामा हस्तक्षेप भएको भनेर विरोध गरेका छन् । ‘‘अभिभावकले गरेको गल्तीका लागि सन्तानलाई दोषारोप गर्नु अन्याय हो,’‘ भन्ने तर्क प्रस्तुत गर्नेहरू पनि छन् तर बहुसंख्यक युवाले भने यो प्रसङ्गलाई प्रतीकात्मक रूपमा लिनुपर्ने बताएका छन्। उनीहरूको भनाइमा, यो आन्दोलन कुनै व्यक्तिको निजी जीवनबारे नभई संरचनागत भ्रष्टाचार र नातावादविरुद्ध हो ।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले भने आगोमा घ्यू थप्ने काम गर्‍यो । जेन–जी पुस्ताका युवाले आफूहरू केवल अनलाइनमा आलोचना गरिरहेका थिए, तर सरकारले त्यसलाई नै नियन्त्रण गर्न खोजेपछि आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार कुण्ठित भएको महसुस गरे । त्यसैले उनीहरू सडकमा उत्रिन बाध्य भए । यो अवस्थामा सामाजिक सञ्जाल केवल मनोरञ्जन वा समय बिताउने माध्यम मात्र नभई राजनीतिक चेतना फैलाउने र प्रतिरोधको साधन बनेको छ भन्ने प्रमाणित भयो ।

जेन–जीको आन्दोलनलाई विभिन्न कलाकार र राजनीतिज्ञले समर्थन गरेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आन्दोलनमा सहभागी हुन नसक्ने भए पनि आफ्नो समर्थन खुला रूपमा जनाएका छन् । उनले यो आन्दोलन स्वस्फूर्त रूपमा युवाहरूको आवाज भएको र कुनै राजनीतिक दल वा नेताले आफ्नो स्वार्थका लागि प्रयोग गर्न नहुने चेतावनी दिएका छन् । खासगरी नयाँ राजनीतिक दलहरुले जेन–जीको आन्दोलनलाई समर्थन गरेका छन् । कलाकारहरू प्रियंका कार्की, निश्चल बस्नेत, प्रकाश सपुतलगायतले पनि युवाको आवाजलाई साथ दिएका छन् । यसरी हेर्दा यो आन्दोलनले केवल एक पुस्ताको असन्तोष मात्र होइन, व्यापक सामाजिक समर्थन पनि प्राप्त गरेको देखिन्छ ।

नेपालमा युवाले यस्ता अभियान सुरु गर्नु नयाँ होइन । यसपूर्व ‘नो नट अगेन’, ‘रेज एगेन्स्ट रेप’, ‘इनफ इज इनफ’ सञ्चालनमा आएका थिए । विभिन्न उद्देश्यका साथ सुरु भएका अभियानकाे नाममा नागरिक सडकमा आएका थिए । अझ अघिल्लो समयमा ‘नेपाल खुला छ’ आन्दोलनले निरन्तर बन्द र हड्तालको विरोध गरेको थियो । यी सबै उदाहरणहरूले नेपालमा युवा पुस्ताले विगतदेखि नै परिवर्तनको बाटो देखाउने काम गर्दै आएको प्रमाणित गर्छन् । जेन–जीको आन्दोलनले यस पटक फरक आयाम बोकेको छ । यसले डिजिटल माध्यममा सुरु भएर सडकसम्म पुगेको छ । यसमा विश्वव्यापी ट्रेन्डको प्रभाव छ भने नेपालकै राजनीतिक र सामाजिक संरचनामा देखिएका समस्याहरूको परिणाम पनि हो । अभिव्यक्तिको स्वतन्त्रता, पारदर्शिता र समान अवसरको माग गर्दा यस पुस्ताले लोकतन्त्रको मौलिक मूल्यलाई उजागर गरेको छ । यो आन्दोलनले भविष्यमा नेपालमा राजनीति, नीति र नेतृत्वको शैली कस्तो हुने भन्ने प्रश्नलाई गम्भीर रूपमा उठाएको छ ।

भ्रष्टाचारविरुद्धको आवाज नेपालमा नयाँ होइन। तर यस पटक युवाले उठाएको स्वर डिजिटल शक्ति र सडक आन्दोलनको संयोजन हो, जसले सन्देशलाई अझ बलियो बनाएको छ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई केवल प्राविधिक वा सुरक्षा सवालका रूपमा बुझेर समाधान गर्न सक्दैन । यो आन्दोलनले देखाएको छ कि युवा पुस्ता आफ्नो अधिकारको संरक्षणका लागि सजग छ र आफ्नो भविष्यलाई जोखिममा पार्ने निर्णयलाई स्वीकार गर्ने छैन ।

यस्ता आन्दोलनले तत्कालिन नतिजा मात्रै ल्याउँदैनन्, दीर्घकालीन प्रभाव पनि पार्छन् । आज जेन–जी पुस्ताले सडकमा बोलेको आवाज भोलि राजनीतिक निर्णय प्रक्रियामा समेत प्रतिध्वनित हुनेछ । पुराना संरचनात्मक समस्याहरूलाई हल गर्न नसकेसम्म यस्तो आक्रोश समय–समयमा सतहमा आउने नै छ तर यदि सरकार र राजनीतिक नेतृत्वले यसलाई अवसरका रूपमा लिएर पारदर्शिता, जवाफदेहिता र युवामैत्री नीति बनाउन सके भने यो आक्रोशलाई सकारात्मक ऊर्जा र राष्ट्रिय पुनर्निर्माणमा रूपान्तरण गर्न सकिन्छ ।

नेपालको राजनीतिक इतिहासमा युवा आन्दोलनले सधैँ महत्त्वपूर्ण भूमिका खेलेको छ । २००६ को जनआन्दोलनदेखि हालसम्मको यात्रामा युवाको निर्णायक हस्तक्षेप देखिँदै आएको छ । जेन–जी पुस्ताको हालको आन्दोलन पनि त्यही निरन्तरता हो तर यसको स्वरूप र शैली नयाँ छ । डिजिटल युगमा हुर्किएको यो पुस्ता अनलाइन प्लेटफर्मलाई आफ्नो शस्त्र र सडकलाई आफ्नो शक्ति बनाएको छ । उनीहरूको माग केवल सामाजिक सञ्जाल खोल्नु मात्र होइन, पारदर्शी शासन र भ्रष्टाचारविहीन भविष्य हो । त्यसैले यो आन्दोलनलाई हल्का रूपमा लिनु या मात्र एक पुस्ताको असन्तोष भनेर खारेज गर्नु राजनीतिक रूपमा गल्ती हुनेछ । यो आन्दोलनले देखाएको छ कि युवाले लोकतन्त्रलाई केवल मतपत्रमा सीमित नगरी आफ्नो जीवन र भविष्यसँग प्रत्यक्ष जोडिएको विषयका लागि सडकमा पनि रक्षा गर्नेछन् । जेन–जीको आवाजलाई सुन्नु, बुझ्नु र सम्मान गर्नु नै नेपालका राजनीतिक दल र नेतृत्वका लागि सही बाटो हुनेछ । यसले मात्र असन्तोषलाई सम्बोधन गरेर राष्ट्रलाई समावेशी, पारदर्शी र भविष्यमुखी बनाउन सहयोग पुर्‍याउँछ ।



प्रतिक्रिया दिनुहोस !