जेन-जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३४७ जना घाइते
प्रकाशित मिति : 8 September, 2025 7:41 pm
काठमाडौँ । सोमबार देशभर भएका जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट संकलन गरेको विवरणअनुसार, हालसम्म १९ जनाको ज्यान गएको पुष्टि भएको हो ।
त्यस्तै, देशभरका अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत रहेको मन्त्रालयले जनाएको छ । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १ र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।
सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा जेनजी युवाहरू सोमबार देशका विभिन्न शहरमा सडकमा उत्रिएका थिए । प्रदर्शन नियन्त्रणमा लिन प्रहरी र सुरक्षाकर्मीले बल प्रयोग गरेपछि स्थिति झन् तनावपूर्ण बनेको थियो ।








