जेन-जी आन्दोलनकाे साइडइफेक्ट : गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
प्रकाशित मिति : 8 September, 2025 8:12 pm
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए ।
लेखकले घटनाप्रति नैतिक जिम्मेवारी लिँदै पद छाड्ने निर्णय गरेको बताएका छन् । उनले यसअघि पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराइसकेका थिए ।
सोमबार देशभर भएका जेनजीहरूको विरोध प्रदर्शन हिंसात्मक बनेपछि व्यापक मानवीय क्षति भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १९ जनाको ज्यान गइसकेको छ भने ३ सयभन्दा बढी घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।








