लोकतान्त्रिक सूत्रधार बिपी कोइरालाको जन्मजयन्ती आज, कांग्रेसद्वारा देशभर कार्यक्रम
काठमाडौँ । नेपाली राजनीतिक रूपान्तरणका नायक, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।
नेपाली कांग्रेसले पार्टी मुख्यालय सानेपासहित सबै प्रदेश र जिल्ला पार्टी कार्यालयमा कोइरालाको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ।
साथै, पूर्वप्रधानमन्त्री कोइरालासहित कांग्रेस नेताहरूलाई कैद गरिएको सुन्दरीजल जेल (हाल सङ्ग्रहालय) मा पनि उहाँको प्रतिमामा माल्यार्पण र श्रद्धाञ्जली अर्पण गरिनेछ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र ७७ वटै जिल्लामा संस्थापक नेता कोइरालाको योगदानलाई स्मरण गर्दै कार्यक्रम हुनेछन्।
कोइरालाले समाजवादको बाटो र राजनीतिक रूपान्तरणप्रतिको दृढतालाई अँगाल्दै आर्थिक विकासमार्फत नेपालको समुन्नतिका लागि नवीन खाका बनाएका थिए। विसं १९७१ भदौ २४ गते जन्मिएका कोइरालाले जहानियाँ राणाशासनको अन्त्यदेखि पञ्चायती व्यवस्थाविरुद्धको संघर्षसम्म महत्वपूर्ण भूमिका निर्वाह गरे। उहाँको निधन २०३९ साउन ६ गते भएको हो।
पूर्वरादूत प्राडा लोकराज ढकालले राणाशाहीविरुद्धको संघर्षमा जेलनेल भोगेका राजनीतिज्ञ, साहित्यकार एवं त्यागी व्यक्तित्वका रूपमा कोइरालाको स्मरण गर्दै उहाँसँग तुलना गर्न योग्य राजनीतिज्ञ अहिलेसम्म देख्न नसकेको बताए ।
उनका अनुसार बिपी नेतृत्वको १८ महिने सरकारले बिर्ता उन्मूलन मात्र गरेको होइन, आर्थिक सुधार र नागरिकलाई आधारभूत आवश्यकतायुक्त बनाउने कार्यको समेत शुरुवात गरेको थियो ।








