कृषि मन्त्री रामनाथ अधिकारीले दिए राजीनामा
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले सोमबार जेन–जीले गरेको प्रदर्शनमा भएको दमन र हिंसाप्रति आक्रोश व्यक्त गर्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन् ।
अधिकारीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्ध जस्तो व्यवहार गरिएको छ । यसको जवाफ नखोजी सत्तामा बस्नु मेरो लागि सह्य भएन । स–साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको विपरित हुन्छ। यसैले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँछु ।”
अधिकारीले जनाएका छन् कि लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो तर यस अधिकारको बदला व्यापक दमन र हत्या भएको प्रति गहिरो आपत्ति रहेको उनले बताएका छन् ।








