जेन–जी आन्दोलन र नेपाली सेनाबीच आज वार्ताको सम्भावना
सेनाले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वार्ता गर्ने प्रयासस्वरूप समन्वय गर्दै
काठमाडौं । जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाली सेनाबीच आज वार्ता हुने सम्भावना देखिएको छ । नेपाली सेनाले पहल थालेपछि वार्ताको तयारी भएको बताइएको छ ।
तर वार्ता कहिले र कहाँ हुने भन्ने विषय भने औपचारिक रूपमा प्रष्ट भएको छैन । स्रोतहरूका अनुसार सेनाले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वार्ता गर्ने प्रयासस्वरूप समन्वय गरिरहेको छ ।
नेपाली सेनाका प्रतिनिधिहरू हिजोदेखि नै जेन–जी आन्दोलनका प्रतिनिधिसँग सम्पर्कमा रहेको र आज अनौपचारिक संवादले तीव्रता पाउने अपेक्षा गरिएको स्रोतले जानकारी दिएको छ ।
यसअघि सेनाले आन्दोलनकारीलाई संयमित रहन र संवादमा आउन आह्वान गरिसकेको छ । प्रधानसेनापति अशोक राज सिग्देलले देशवासीका नाममा सम्बोधन गर्दै वार्तामार्फत समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरेका थिए । त्यसअघि नै राष्ट्रपति पौडेलले पनि जेन–जी आन्दोलनकारीलाई संवादमा सहभागी हुन आग्रह गरेका थिए ।
यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि सामाजिक सञ्जालमार्फत सेनासँग संवाद हुने जानकारी दिँदै संसद विघटनलाई सर्तका रूपमा अघि सारेका थिए ।








