जेन–जी आन्दोलन : सेनाले जिम्मा लिएर सुरक्षामा कडाइ, लुटपाटमा संलग्न पक्राउ
जनताको सुरक्षा र सम्पत्ति संरक्षणका लागि सेनाले बिहानैदेखि सडकमा माइकिङ गर्दै आग्रह
काठमाडौँ । नेपाली सेनाले हिजो राति १० बजेदेखि देशव्यापी सुरक्षा व्यवस्थाको जिम्मा लिएको छ । जेन–जी आन्दोलनको नाममा केही समूह लुटपाट र अराजक गतिविधिमा संलग्न भएपछि सेनाले प्रत्यक्ष कारबाही थालेको हो ।
सेनाले काठमाडौंका विभिन्न स्थानबाट तोडफोड र लुटपाटमा संलग्न युवाहरूलाई पक्राउ गरेको छ । साथै, देशभर भीडभाड नगर्न, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति नष्ट नगर्न नागरिकलाई आग्रह गरेको छ ।
आज बिहानैदेखि सडकमा सेनाका गस्ती टोलीहरूले माइकिङ गर्दै जनताको जीउ–धन र सार्वजनिक सम्पत्तिको सुरक्षामा सहयोग गर्न आग्रह गरेका छन् । कसैले अराजक गतिविधि वा क्षति पुर्याइरहेको देखे तत्काल सेनालाई सूचना दिन पनि आग्रह गरिएको छ ।
यसअघि जेन–जी आन्दोलनका संयोजक पुरुषोत्तम यादवले विज्ञप्ति जारी गर्दै आन्दोलनको नाममा भइरहेको लुटपाट र तोडफोडलाई कुनै हालतमा स्वीकार नगर्ने स्पष्ट पारेका थिए ।








