जेनजी आन्दोलन : ३० जनाकाे मृत्यु, घाइते १ हजार ३३ जना
प्रकाशित मिति : 10 September, 2025 9:53 pm
दाङ । जेनजी आन्दोलनमा हालसम्म ३० जनाले मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २८ अस्पतालमा हाल २५३ जना घाइते उपचाररत छन् ।
मन्त्रालयले दिएको विवरणअनुसार हालसम्म १ हजार ३३ जना घाइते भएका छन् । तीमध्ये ७१३ जनालाई उपचारपछि घर पठाइएको छ भने ५५ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ ।
सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा पुगेका छन् । त्यहाँ उपचारका लागि आएका ४३६ मध्ये ३४४ जना डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ । नेसनल ट्रमा सेन्टरमा १६१ घाइते भर्ना भएका थिए। तीमध्ये ५८ जना अझै उपचाररत छन् र ८ जनाको ज्यान गएको छ ।
बाँकेको भेरी अस्पतालमा उपचारका लागि आएका २८ मध्ये ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसरी आन्दोलनको क्रममा बढ्दो मृत्यु र घाइतेको संख्याले स्थिति गम्भीर बन्दै गएको देखिएको छ ।








