उपत्यकामा निषेधाज्ञा र कर्फ्यू निरन्तर, अत्यावश्यक सेवामा छूट
काठमाडौँ । नेपाली सेनाले काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा तथा कर्फ्यूलाई निरन्तरता दिने निर्णय गरेको छ ।
जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै नागरिकको जनधनको सुरक्षाका लागि जारी आदेशलाई क्रमबद्ध रूपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको जनाएको छ ।
निषेधाज्ञा र कर्फ्यू अवधिमा आज बिहान ६ देखि १० बजे र बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न पाइने व्यवस्था गरिएको सेनाले जनाएको छ ।
त्यस अवधिमा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने सवारी साधन सञ्चालनमा छूट दिइनेछ ।
यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म पुग्न सक्नेछन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले पनि टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्ने व्यवस्था गरिएको छ ।
उपत्यका बाहिर भने सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुसार जिल्ला सुरक्षा समितिको निर्णय र समन्वयका आधारमा निषेधाज्ञा तथा कर्फ्यूको व्यवस्था हुने सेनाले जनाएको छ ।








