प्युठानमा आज बिहानदेखि साँझसम्म निषेधाज्ञा लागू, भेला–जुलुस र प्रदर्शनमा प्रतिबन्ध
काठमाडौं । प्युठान जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञा आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालद्वारा जारी आदेशअनुसार भदौ २६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि जिल्लाको विभिन्न क्षेत्रलाई निषेधाज्ञा क्षेत्र घोषणा गरिएको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) अनुसार लागू गरिएको यो आदेशले पाँच जनाभन्दा बढी भेला भई कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, विरोध, घेराउ वा बैठक गर्न रोक लगाएको छ।
आदेशले उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ। निषेधाज्ञा प्युठान नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ७ र ८ का सम्पूर्ण बजार तथा भित्री सडक क्षेत्रमा लागू हुनेछ।
यसका साथै मल्लरानी गाउँपालिका–४ को खलंगा बजार, प्युठान नगरपालिकाको चेरनेटा हुँदै ऐरावती गाउँपालिकाको बरौला बजारसम्मको सडकखण्ड र त्यसको दुवैतर्फ ५०० मिटर क्षेत्रलाई समेत निषेधाज्ञा क्षेत्र तोकिएको छ। दाङ–प्युठान–रोल्पा सडकखण्डमा पर्ने सम्पूर्ण राजमार्ग क्षेत्र पनि यसमा समावेश गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले विद्यमान परिस्थिति शान्त र सुरक्षित राख्न निषेधाज्ञा अनिवार्य रहेको भन्दै सर्वसाधारण नागरिकलाई सहकार्य गर्न आग्रह गरेको छ। “व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने नारासहित जारी गरिएको यो आदेशले परिस्थितिलाई नियन्त्रणमा राख्न र जनताको सुरक्षालाई प्राथमिकता दिएको जिल्ला प्रशासनले स्पष्ट पारेको छ।








