अन्तरिम सरकार गठनका लागि राष्ट्रपतिले पहल गर्नुपर्छ- रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति रामचन्द्र पौडेलको प्रत्यक्ष पहलमा संवादमार्फत अन्तरिम सरकार गठनमा जुट्नुपर्ने बताएको छ ।
आज बसेको भर्चुअल बैठकपछि कार्यवाहक सभापति डीपी अर्यालले पत्रकारलाई जानकारी दिँदै रास्वपाले नेपालको संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामा कहिल्यै सम्झौता नगर्ने निर्णय गरेको बताए ।
उनका अनुसार पार्टीले मुलुकलाई राजनीतिक स्थिरता, सुशासन र लोकतान्त्रिक अभ्यासमार्फत अगाडि बढाउन सबै दलबीच सहमति आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
यस्ता छन् रास्वपाका बैठका निष्कर्ष
१. सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन-जी पुस्तासहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहनेछ । सो उम्मेदवारले वृहत् राजनीतिक अनुमोदन प्राप्त गर्ने शुभेच्छा राख्दछ ।
२. नेपालको संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रस्तावना, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामा राष्ट्रिय स्वतन्त्र पार्टीले कसैसँग कहिल्यै सम्झौता नगर्ने स्पष्ट पार्दछ ।
संविधानको धारा ८३ अन्तर्गत संघीय व्यवस्थापिका दुई सदनात्मक हुने तथ्यको स्मरण गर्दै (रास्वपा सोच अनुरूप पछि संशोधनीय) राष्ट्रिय सभाको स्थायी स्वरुप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ ।
३. सम्माननीय राष्ट्रपतिज्यूको प्रत्यक्ष पहल र संवादका आधारमा आसन्न संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षकत्व दिइने अपेक्षा राख्दै संविधानको व्यापक संशोधन, २०८२ भदौ २३ को आन्दोलनमाथि भएको बर्बर दमन र तत्पश्चात् भएका मानवीय क्षति, निजी र सार्वजनिक सम्पत्तिमाथिको आक्रमण लगायतका अक्षम्य हिंसात्मक घटनाहरूको उच्चस्तरीय न्यायिक छानविन र २०४६ पछिका उल्लेख्य भ्रष्टाचारका मुद्दाहरूमाथि निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणका लागि स्वतन्त्र आयोगहरूको गठन नयाँ सरकार बनेको १५ दिनभित्र बनाउन आव्हान गर्दछ।
डोल प्रसाद अर्याल
कार्यवाहक सभापति








