पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वमा अन्तरिम सरकारबारे आज छलफल हुँदै
जेन-जीको संसद् विघटनको अडान र संविधानको प्रावधानबीच समाधान खोज्दा अझै टुंगो लागेन
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार बिहानदेखि पुनः छलफल सुरु हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा संविधानविद्हरु र कार्कीको उपस्थितिमा दिनभर र रातभर छलफल गरेका थिए तर संसद् विघटन गर्ने वा नगर्ने भन्ने संवेदनशील विषयमा सहमति जुट्न नसकेपछि निष्कर्षमा पुग्न सकिएको थिएन ।
स्रोतका अनुसार, अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्षका रूपमा सुशीला कार्कीलाई अघि सार्नेबारे भने राजनीतिक, कानुनी र सामाजिक तहमा सहमति भइसकेको छ तर संसद् विघटनलाई ‘बटमलाइन’ बनाएका जेनजी युवाको माग र संविधानभित्रको प्रावधानबीच मेल कसरी मिलाउने भन्नेमा अझै टुंगो लागेको छैन ।
बिहीबारको छलफलमा जेनजी युवाको तर्फबाट कानुन व्यवसायी ओमप्रकाश अर्याल पनि सहभागी थिए । अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत हुन् ।
राष्ट्रपति पौडेलले कांग्रेस नेताहरूसँग परामर्श गर्दा अहिलेको जटिल परिस्थितिमा कार्कीलाई अघि बढाउन सकिने राय पाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यस विषयमा आफूहरू सकारात्मक रहेको बताएका छन् ।
भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरिरहेका जेनजी समूहले दुई दिन अघिदेखि नै कार्कीको नाम अघि सारेका थिए । त्यसअघि उनीहरू नेपाली सेनासँग जंगीअड्डामा छलफलमा बसेका थिए । कार्की स्वयंले पनि मुलुकको हितका लागि जिम्मेवारी लिन सकारात्मक रहेको सार्वजनिक प्रतिक्रिया दिइसकेकी छन् ।
यसबीच, सोमबारको आन्दोलनमा प्रहरीले गरेको बल प्रयोगका कारण हालसम्म ३४ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये केही प्रहरी समेत रहेका छन् ।
उक्त घटनापछि राजधानीसहित मुलुकका प्रमुख प्रशासनिक केन्द्रहरूमा आगजनी, तोडफोड र कर्फ्यू लगाइएपछि राष्ट्रपति पौडेल सक्रिय भई अन्तरिम सरकार गठनको प्रक्रियामा अगाडि बढेका हुन् ।
शुक्रबार बिहान ९ बजेदेखि सुरु हुने छलफलले संसद् विघटनबारे टुंगो लगाउने अपेक्षा गरिएको छ। त्यसपछि अन्तरिम सरकार गठनबारे स्पष्ट नतिजा आउने राजनीतिक वृत्तको बुझाइ छ ।








