संविधानभित्रैबाट निकास खोज्न सांसद ईश्वरी घर्ती मगरको आग्रह
काठमाडौँ । प्रतिनिधि सभा सदस्य ईश्वरी घर्ती मगरले मुलुकमा देखिएको राजनीतिक संकटको समाधान संविधानभित्रै खोज्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेकी छिन् ।
उनले नेपालमा २००७, २०३६, २०४६, २०५२, २०६२/६३ सालमा भएका आन्दोलनहरू नेपाली जनताको अधिकार प्राप्ति र जनतामै निहित संविधान निर्माणमा केन्द्रित रहेकाले आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था त्यही संघर्ष र बलिदानको उपलब्धि भएको बताइन् । “लामो संघर्षबाट प्राप्त व्यवस्थालाई मजाक नगरौं, विकल्प नखोजौं,” सांसद घर्तीले भनिन् ।
उनले राजनीतिक दलहरूमा “सत्ता आफ्नो मुठ्ठीमै राख्ने र जनतालाई केवल भोट बैंकको रूपमा हेर्ने प्रवृत्ति” हावी भएकाले आजको असन्तोष सिर्जना भएको टिप्पणी गरिन् । भ्रष्टाचार, अकुत सम्पत्ति आर्जन र तामझामपूर्ण जीवनशैलीले जनतामा फरेस्ट्रेशन बढाएको उनको भनाइ छ ।
“संघीय संसद सचिवालयले उपलब्ध गराउने सुविधा सबै सांसदलाई उस्तै हो, तर त्यसैमा दैनिक खर्च चलाउन गाह्रो हुन्छ तर कतिपय नेताहरू करोडौंका गाडी चढेर उच्च जीवनशैली अपनाइरहेका छन् । यो असमानता जनताले राम्ररी देखेका छन्,” सांसद घर्तीले अनुभव सुनाइन् ।
उनले अहिलेको जेनजी आन्दोलन सुशासन र पारदर्शिताको चेतावनी भएको भन्दै नेताहरूले यसलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने बताइन् तर आन्दोलनमा घुसपैठ र हिंसा भई निर्दोष विद्यार्थीले ज्यान गुमाउनु अत्यन्तै दुखद भएको भन्दै त्यसको जिम्मेवारी सम्बन्धित अधिकारीलाई लिनैपर्ने उनको माग छ।
“जेनजीको पहिलो मुद्दा सामाजिक सञ्जाल सुचारु गर्ने थियो तर त्यो माग ओझेलमा पर्यो । आन्दोलन संसद् भवन र सिंहदरबारसम्म पुगेपछि गोली चल्यो, मान्छे मारिए । छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ,” उनले जोड दिइन् ।
सांसद घर्तीले आन्दोलनका नाममा संवैधानिक व्यवस्था ध्वस्त पार्ने प्रयास अस्वीकार्य हुने चेतावनी पनि दिइन् । “संविधान खारेज गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई ढाल्ने वातावरण कुनै हालतमा स्वीकार्य हुँदैन । बरु नयाँ सरकारमा तपाईंहरू जेनजी पुस्ताकै प्रतिनिधि पुग्नुस्, तर व्यवस्थामाथि प्रहार नगर्नुस्,” उनले आग्रह गरिन् ।
उनले आन्दोलनकै घुसपैठका कारण सरकारी संरचना, ऐतिहासिक कागजात र उद्योगधन्दा जलेर नोक्सानी भएको उल्लेख गर्दै संयमता अपनाउन आह्वान गरिन् । “व्यवस्था बचाउन लाग्नुस्, यही हो भोलिका पुस्ताबाट सम्मान पाउने बाटो,” सांसद घर्तीको भनाइ छ।
साथै उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री र शीर्ष नेताहरूको अवस्थाबारे सार्वजनिक पार्न माग गरेका छिन् । “आजसम्मको राजनीतिक नेतृत्व कहाँ छ, कुन अवस्थामा छ, त्यो बुझ्न पाउनु सबै नागरिकको अधिकार हो। मन नपर्ने नेतालाई ठेगान लगाउने उपयुक्त समय निर्वाचन हो, सडक होइन,” उनले भनिन् ।
सांसद घर्तीले अन्त्यमा जेनजी युवालाई भावनामा बगेर नभई भिजनसहित अघि बढ्न आग्रह गर्दै भनिन्, “प्रिय जेनजी मित्रहरू, संविधानभित्रैबाट निकास खोजौं, यही मुलुकको हितमा हुनेछ।”








