१९ मंसिर २०८२, शुक्रबार

पुनर्निर्माणको पहल कांग्रेसले लिन्छ-महामन्त्री थापा

प्रकाशित मिति :  12 September, 2025 11:12 am


काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ गतेको घटनाका कारण सिंगो पार्टीले देशसँग माफी माग्नुपर्ने बताएका छन्। उनले उक्त घटनालाई अकल्पनीय भनेका छन् र कांग्रेसले आफ्नो दाग आफैंले पुछ्नुपर्ने स्पष्ट पारेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले भने, “भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो। हाम्रो अनुहारमा लागेको दाग ऐना पुछेर जान्छ भन्ने होइन, कांग्रेसले नै पुछ्नुपर्छ।”

उनका अनुसार भदौ २४ गते देशभर ठूला क्षति भएका छन्। पार्टीका कार्यालय, सम्पदा र नेता–कार्यकर्तामाथि आक्रमण, घर–सम्पत्तिमा आगजनी तथा तोडफोड भएको उनले बताए। स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्ने तर नियतवश भएको तोडफोडलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो।

थापाले तत्काल नयाँ सरकार बनेपछि भदौ २३ र २४ गते भएका सबै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग कांग्रेसले गर्ने स्पष्ट पारे। पुनर्निर्माणको पहल पनि कांग्रेसले लिनुपर्ने उनको धारणा छ। उनले विगतमा माओवादीसँग मिलेर घाउ बिर्सेको उदाहरण दिँदै अहिले पनि त्यस्तै जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने बताए।

देशलाई अहिलेको जटिल अवस्थाबाट बाहिर निकाल्न कांग्रेसले पहल गरिरहेको थापाको भनाइ छ। उनका अनुसार राष्ट्रपति, अन्य दल र आन्दोलनकारीहरूसँग निरन्तर संवाद भइरहेको छ।

“जेनजी आन्दोलनकारी साथीहरूले राखेका मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देश अघि बढ्छ,” उनले भने, “अन्तरिम सरकारको कुरा टुंगिने चरणमा छ। सम्भवत: आज साँझसम्म आन्दोलनकारीले छानेको व्यक्तिको नेतृत्वमा सरकार बन्न सक्छ। कांग्रेस यसका लागि तयार मात्र छैन, वातावरण पनि बनाइरहेको छ।”

थापाले अन्ततः कांग्रेस सच्चिने र अझ बलियो भएर उठ्ने दाबीसमेत गरेका छन्।



प्रतिक्रिया दिनुहोस !