जेनजीको प्रस्ताव अनुसार संसद् विघटन, कार्की अन्तरिम सरकार प्रमुख बन्ने
काठमाडौँ । देशको तत्कालिक राजनीतिक संकट समाधानका लागि शुक्रबार दिनभर चलेको वार्तापछि प्रतिनिधिसभा विघटन गर्ने र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति जुटेको छ ।
शीतलनिवाससँग सम्बद्ध स्रोतका अनुसार, आज साँझ ९ बजे कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाउने तयारी भइरहेको छ । अहिले शीतलनिवासमा संसद् विघटनको मस्यौदा र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने पत्रको अन्तिम टुङ्गो लगाउने काम जारी छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई राजनीतिक दलहरूले संसद् कायम राखेर नै कार्कीलाई अघि बढाउने सुझाव दिएका थिए तर जेनजी आन्दोलनको प्रस्ताव अनुसार कार्कीले संसद् विघटन नगरी नेतृत्व स्वीकार नगर्ने अडान राखेकी थिइन् ।
काठमाडौँ महानगरका मेयर बालेन शाहले समेत सहमतिका लागि संसद् विघटनलाई न्यूनतम सर्तको रूपमा अघि सारेका थिए । बिहीबार राति र शुक्रबार बिहानसम्म पनि सहमति नजुटेपछि प्रधानसेनापति अशोकराज सिग्देलले ‘साँझसम्म सरकार गठन नभए संकटकाल लगाउनुपर्ने अवस्था आउन सक्छ’ भन्दै चेतावनी दिएका थिए । त्यसपछि तीव्र दबाबबीच दलहरू अन्ततः जेनजी आन्दोलनको मागअनुसार अघि बढ्न सहमत भएका हुन् ।
यस क्रममा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले कार्कीको नाममा सहमति जनाए पनि संविधान र संसद्को फ्रेमभित्रै समाधान खोज्नुपर्ने धारणा राखेका थिए । तर, अन्ततः संसद् विघटनमार्फतै नयाँ सरकार गठन गर्ने निष्कर्षमा पुगेका हुन् ।
स्रोतका अनुसार, कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएपछि आजै साँझ उनको शपथग्रहण सम्पन्न गर्ने तयारी भइरहेको छ ।








