अन्तिम समयमा रोकियो मन्त्रिमण्डल विस्तार : सबै मन्त्रालयकाे जिम्मेवारी कार्कीकै काँधमा
काठमाडौँ । अन्तरिम सरकार गठनसँगै आज प्रधानमन्त्रीसँगै केही मन्त्रीलाई पनि शपथ गराउने तयारी थियो । तर, अन्तिम समयमा मन्त्रिपरिषद् विस्तारको प्रक्रिया रोकिएको छ ।
अहिले सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीकै काँधमा रहेको छ । प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषदमा अधिवक्ता ओमप्रकाश अर्याल कानूनमन्त्री बन्ने लगभग निश्चित देखिएका छन् ।
हाल काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहका सल्लाहकार रहेका अर्याल पछिल्लो समय राष्ट्रपति र प्रधानसेनापतिसँग भएका संवेदनशील वार्तामा समेत सक्रिय देखिएका थिए ।
त्यसैगरी, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र जेनजी प्रतिनिधि सुधन गुरुङको नाम पनि भावी मन्त्रीका रूपमा चर्चामा आएको छ । तर, अन्ततः मन्त्रिपरिषद् विस्तार स्थगित भएपछि उनीहरूलाई शपथ गराउन नसकिएको हो ।
स्रोतका अनुसार, आगामी दिनमा राजनीतिक सम्वाद र समग्र परिस्थितिलाई ध्यानमा राख्दै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भने जारी रहनेछ ।








