१९ मंसिर २०८२, शुक्रबार

एमालेले जनतासँगको सम्बन्ध सुधार गर्नेछ-सचिव भट्टराई

प्रकाशित मिति :  13 September, 2025 1:17 pm


काठमाडौ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको १२ मिनेट २० सेकेण्ड लामो भिडियो सन्देशमा उनले भदौ २३ र २४ गतेका घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

सचिव भट्टराईले संसद विघटनलाई मुलुकलाई संक्रमण निवारण गर्ने सही बाटो नभएको भन्दै समस्या संवैधानिक प्रक्रियामार्फत समाधान गर्नुपर्ने बताए । उनले भने, “जेनजी पुस्ताका मागलाई संसदबाटै सम्बोधन गर्न सकिन्थ्यो, तर संसद विघटन गरियो, यो सही निकास होइन ।”

संविधानको अवज्ञा गर्दा खारेजीको जोखिम रहने भन्दै भट्टराईले आगामी दिनमा संविधान र लोकतन्त्रलाई सही लिकमा फर्काउन धैर्यतापूर्वक अघि बढ्नुपर्ने बताए । प्रधानमन्त्री र राष्ट्रपतिका कदम संवैधानिक हुनुपर्ने उल्लेख गर्दै उनले एमाले त्यसलाई समर्थन गर्ने जनाए ।

भ्रष्टाचार, कुशासन र बेथिती समाजका नकारात्मक पाटो भएको बताउँदै उनले यसको अन्त्य अपरिहार्य भएको धारणा राखे । भौतिक संरचना निर्माणमा एमालेले उल्लेखनीय उपलब्धि हासिल गरे पनि भ्रष्टाचार नियन्त्रणमा अपेक्षित सफलता नपाएको स्वीकार गर्दै उनले जनतासँग आत्मालोचना र माफी मागे ।

भट्टराईले युवालाई पार्टीमा आकर्षित गर्ने आवश्यकता औंल्याउँदै एमालेलाई युवा–मैत्री, जनमुखी र प्रगतिशील बनाउन संरचनागत सुधार गर्ने बताए। “हाम्रो पार्टीमा जेन्जी पुस्ता किन आकर्षित भएको छैन भन्ने गम्भीर समीक्षा हुन्छ,” उनले भने।

संकटको बेला पार्टी छोड्ने प्रवृत्ति राम्रो नभएको टिप्पणी गर्दै उनले एमाले छाडेकाहरुलाई पुनः फर्किन अपिल गरे । समाज र हरेक व्यक्तिको रूपान्तरण आजको आवश्यकता भएको उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस !